उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न

वीरगञ्जको तेजारथटोल छठ घाटमा सोमबार बिहान उदाउँदो सूर्यको प्रतीक्षामा व्रतालुहरु । तस्बिर : शंकर आचार्य/रेडियो कान्तिपुर  

मंसिर ४, २०८० | पर्सा

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर व्रतालुले यस वर्षको कात्तिके छठ पर्व समापन गरेका छन् । व्रतालुहरु झिसमिसे देखिनै जलाशयहरुमा उभिएर सूर्योदको प्रतीक्षा गरेका थिए । ‘बिहनीयाघाट’ भनिने यस दिन व्रतालुहरुले कलिलो सूर्यलाई बाँसको सुपुलीमा नरिवल र अन्य पूजा सामग्रीहरु अर्घ दिए । 

व्रत समापन भएपछि व्रतालुले परिवारजन र आफन्त, इष्टमित्रहरुलाई टीका लगाई दिएका थिए । व्रतालुहरुले परिवारका तथा आफन्त इष्टमित्र महिलाहरुलाई सौभाग्यको प्रतीक नाकदेखि सिउँदोसम्म सिन्दुर÷टीका लगाइ दिन्छन् । विवाहित महिलाले यस्तो टीका लगाउँदा छठी माताको आशीर्वादले पतिको दीर्घायु हुने र दाम्पत्य जीवन सफल हुने धार्मिक विश्वास रहेको छ । 

टीका आदानप्रदान भएपछि व्रतालुले घाटमै प्रसाद वितरण गरेर र आफूले पनि खाएका थिए । शनिबार साँझ सख्खर, दूध र चामलबाट तयार पारीएको खिर (रस्याउ) खाएका व्रतालुहरुले आइतबार निर्जल/निराहार व्रत लिएका थिए । पर्वको सम्पूर्ण विधि सकिएपछि व्रतालु तथा तिनका परिवारका सदस्य छरछिमेक, आफन्तजन तथा इष्टमित्रहरुलाई प्रसाद बाँड्नमा व्यस्त छन् ।

निराहार निर्जल कठोर व्रत लिएका व्रतालुलाई व्रत तोडेपछि खाने खाना परिवारका सदस्यले घरमा बिहानैदेखि पकाई रहेका हुन्छन् । त्यस्तो खानामा पकौडा, तरुवा आदि अतिरिक्त परिकार हुन्छन् । केही व्रतालुले माछा भात खाने पनि गर्छन् । व्रतपछिको पहिलो खाना माछा भात खाँदा शुभ हुने जनविश्वास छ ।

व्रतालु महिलाले दर्शनार्थी महिलालाई सौभाग्यको प्रतीक सिन्दुर-टीका लगाई दिँदै । तस्बिर : शंकर आचार्य/रेडियो कान्तिपुर

नियमित छठको व्रत लिने तथा भाकल गरेर कुनै वर्ष मात्र व्रत लिने व्रतालुहरुले यो पर्वको विधि औपचारिक रुपमा सम्पन्न गरेपछि ठूलो जिम्मेवारी सफलता पूर्वक बहन गरेको अनुभूति गर्छन् । छठी माताको प्रसाद छोरीचेलीको घरमा पठाउने चलन छ । छोरीचेलीको घरमा प्रसाद लिएर प्रायः माइतीबाट दाजुभाईहरु जाने गर्छन् ।

चेलीबेटीहरु पनि माइतीबाट आफ्नो प्रसाद/कोसेलीको प्रतीक्षा गरेर बसेका हुन्छन् । यस्तो कोसेलीलाई ‘बायन’ भन्ने चलन छ । चेलीबेटी कहा ‘बायन’ पठाउने क्रम करीब साताभरी चलिरहन्छ । घरमा कुनै विशेष समारोह आदि आयोजन हुँदा चेलीबेटी कहाँ अनिवार्य रुपमै कोसेली पठाउने तराईको पुरानो चलन हो ।


प्रतिक्रिया