वर्षाले सिरिजंघाका विद्यालय अनिश्चितकालका लागि बन्द

असार २, २०८१ | ताप्लेजुङ

लगातारको वर्षाका कारण ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । वर्षाले बाढी र पहिरोको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि विद्यालयमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ । 

सिरिजंघाका अध्यक्ष लालकृष्ण चौहानले पानी पर्ने क्रम नरोकिएसम्म पालिकाभित्रका विद्यालय सञ्चालन नगर्न निर्देशन दिइएको बताउनुभयो । लगातार वर्षा भइरहेकोले बाढी र पहिरोको जोखिम रहेको हुँदा विद्यालय सञ्चालन नगर्न प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । 

गाउँपालिका शिक्षा समितिका अध्यक्ष समेत रहेका चौहानले वर्षाका कारण गाउँमा पहिरो खस्ने, सडक अबरुद्ध हुने लगायत विपत भएको हुँदा अहिलेको अवस्थामा बालबालिकालाई घरमै राख्न सुक्षित हुने बताउनु भएको हो । 

सिनाम माध्यमिक विद्यालयले आइतबार बिहान अधिक वर्षा भएपछि विद्यार्थीहरुलाई फर्काएको थियो । शिक्षक तुलसी पोख्रेलले अधिक वर्षा भएकाले विद्यार्थीहरुलाई स्कूल नआउन अनुरोध गरिएको बताउनुभयो । ‘टोल/टोलमा फोन गरेर अभिभावकलाई भन्यौं,’ उहाँले भन्नुभयो, ‘अनि गौंडा/गौंडाबाट पनि फर्कायौं ।’ 

शुक्रबार रातिदेखिको वर्षाले सिरिजंघा वडा नम्बर ६, ७ र ८ प्रभावित भएका छन् । यता विद्युतको केन्द्रीय प्रशारण लाईन नहुँदा शनिबार बेलुकादेखि पालिका सञ्चार सम्पर्कविहीन भएको छ । ‘पालिकाभरी विद्युतको राष्ट्रिय प्रशारण लाईन जोडिएको छ, हिजोदेखि बिजुली नहुँदा टेलिफोनको टावर चलेको छैन,’ अध्यक्ष चौहानले भन्नुभयो, ‘विद्युत प्राधिकरणलाई चाँडो बनाइदिन सबैले अनुरोध गरिदिनुपर्यो ।’ 

विद्युत तत्काल बनाइदिन पालिकाको तर्फबाट पनि अनुरोध गरिएको उहाँले बताउनुभयो । विद्युत वितरण केन्द्र ताप्लेजुङका प्रमुख सुरेश चौधरी भने अमरपुरको १३३ केभीए प्रशारण लाइनमा समस्या भएकाले मर्मतको काम भइरहेको जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले विद्युत नियमित आपूर्तिका लागि समन्वय गरिरहेको बताउनुभयो । ‘मैले विद्युतको हाकिमसाबलाई भनेको छु,’ आचार्यले भन्नुभयो, ‘प्राविधिक टोलिले काम गरिरहेको सुचना आएको छ ।’


प्रतिक्रिया