लमजुङको बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

असार १२, २०८१ | लमजुङ

लमजुङको क्व्होलासोथार गाउँपालिका–३, बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । वडा सदस्य विनप्रसाद घलेका अनुसार गएराति १ बजेतिर खसेको पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएका हुन् । 

पहिरोमा पुरिएर स्थानीय ६९ वर्षीय रुद्रमान गुरुङ, उनका बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरु ७ वर्षीया इच्छा र ५ वर्षीया नम्रता बेपत्ता भएका हुन् । पहिरोमा पुरिएर ३६ वर्षीय भीमबहादुर घले घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बगुममा पहिरोले बगाउँदा ४ जना बेपत्ता भएको खबर आएको बताउनुभयो । उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठको नेतृत्वमा र अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरी घटनास्थलमा खटिएको उहाँले जानकारी दिनुभयो । 

स्थानीयका अनुसार भीमबहादुरको घर बगाए पनि उनी खोपीतिर सुतेका कारण बच्न सफल भएका हुन् । रुद्रमानका श्रीमती लिलाकुमारी र पञ्चकुमारीका छोरा निरज छिमेकीकोमा सुत्न गएकोले उनीहरु बच्न सफल भएका छन् । 

वर्षा भईरहेकोले बेपत्ता भएकाहरुको खोजीमा समस्या भएको स्थानीयले बताए । यसैगरी, बेंसीसहर नगरपालिका–११, चिती स्याउतमा पहिरोले घर भत्किाउँदा २ जना घाइते भएका छन् । 

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो । क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पहिरोले बेपत्ता भएकाको खोजीकार्य भइरहेको बताउनुभयो । 


प्रतिक्रिया