पहिरोमा पुरिएर कास्कीमा दुई बालबालिकाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

असार १२, २०८१

कास्कीमा पहिरोले घर पुर्दा दुई बालबालिकाको मृत्यु भएको छ । एक महिला गम्भीर घाइते भएकी छन् । 

आज बिहान सवा दुई बजेतिर मादी गाँउपालिका–५ चितेपानी घुम्तीस्थित प्रकाश रानाभाटको घर माटोको ढिस्को खसेर पुरिँदा १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको हो । 

घरमा ७० वर्षीया हजुरआमा लालमाया बञ्जारी र उनी मात्रै सुतेको अवस्थामा पहिरो खसेको थियो । पहिरोले घर पुरिएको खबरपछि इलाका प्रहरी कार्यालय सिसुवाबाट उद्धार टोली खटिएको थियो । 

लालमायाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्तकुमार शर्माले बाउनुभयो ।

यस्तै, पहिरोले पुरिएर पोखरा महानगरपालिका–२७ आरुपाटा बस्ने हरि सुनारका छोरा ३ वर्षीय अनमोलको मृत्यु भएको छ । उनकी श्रीमती २७ वर्षीय रितु सुनार गम्भीर घाइते भएकी छन् । 

घाइते सुनारलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शर्माले बाउनुभयो । हरि र उनकी छोरी ९ वर्षीया अञ्जली सुनारको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया