गुगल ट्रान्सलेट सेवामा नेपालभाषा समावेश

असार १४, २०८१

सर्च इन्जिन प्लाटफर्म, गुगलको ट्रान्सलेट सेवामा नेपालभाषा (नेवारी) समावेश भएको छ ।

ब्लगपोस्टमार्फत गुगलले विश्वका १ सय १० भाषा थप गरेको जानकारी गराएको थियो । तीमध्ये नेपालको नेवार समूदायको मातृभाषा पनि समेटिएको हो ।

गुगल ट्रान्सलेटबाट अब विभिन्न भाषालाई नेपालभाषामा उल्था गर्न सकिन्छ । नेपाल भाषालाई पनि अन्य भाषामा उल्था गर्न सकिन्छ । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी विविध भाषा उल्था गर्ने सुविधा ल्याएको जनाएको छ ।

एआईको पाल्म–२ ल्यांग्वेज मोडलको सहयोगमा ६१ करोडभन्दा धेरैले बोल्ने क्यान्टोजी भाषादेखि अफ्रिकामा बोलिने फन, स्वाती, वलोफसँगै नेपालको नेवारी भाषालाई गुगल ट्रान्सलेटमा राखिएको ब्लग पोस्टमा उल्लेख छ ।

आफ्नो मातृभाषाको संरक्षणका लागि पहल गर्दै आएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंलोगलले गुगल ट्रान्सलेटमा नेपालभाषा समावेश भएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

सन् २०२२ मा जेरो–सट मेसिन ट्रान्सलेसन प्रविधिमा आधारित भएर नयाँ भाषाहरू थप गरिएकोमा यसपटक एआईको सहयोगमा भाषा अनुवादलाई प्रभावकारी बनाइएको गुगलको दाबी छ ।


प्रतिक्रिया