प्रतीक थापा पक्राउ

असार १४, २०८१

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गिरोहमा संलग्न रहेको अभियोग लागेका प्रतीक थापा पक्राउ परेका छन् । एसएसपी एवं केन्द्रीय प्रहरी सह प्रवक्ता विश्व अधिकारीका अनुसार थापालाई आज साँझ सवा ७ बजे बौद्ध क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रतीक पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष समेत रहेका रामबहादुर थापाका छोरा हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर अदालतमा मुद्दा दायर गरेको थियो । बाबु रामबहादुर थापा गृहमन्त्री भएका बेला प्रतीकले विचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि फरार भएका थापाले २०८० वैशाख २१ मा प्रेस विज्ञप्ति जारी गरी आफू सो घटनामा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताएका थिए । तर, प्रहरी अनुसन्धानकै क्रममा थापा फरार भएका थिए ।  


प्रतिक्रिया