एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, खनाल र भुषालबीच प्रतिस्पर्धा !

असार १४, २०८१ | काठमाडौं

देशको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादीको महाधिवेशन आउँदो आइतवार संघीय राजधानी काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन नजिकिदै जाँदा अन्य पार्टी जस्तै एकीकृत समाजवादीमा पनि नेतृत्वको चयन र राजनीतिक दस्तावेजको बिषयलाई लिएर बहस भइरहेका छन् । कुनै पनि राजनीतिक दलका लागि महाधिवेशन नियमित प्रक्रिया भएपनि एकीकृत समाजवादीको हकमा भने फरक ढंगले हेरिएको छ । किनभने पार्टीले लिने नीति र त्यसलाई नेतृत्व दिने नेताको चयनले एकीकृत समाजवादीको औचित्य निकट भविष्यमै देखिने आँकलनसहित विश्लेषण भइरहेका छन् ।

झन्डै तीन वर्ष अघि नेकपा एमालेबाट विद्रोह गरी गठन भएको एकीकृत समाजवादी आसन्न राष्ट्रिय महाधिवेशनमा केन्द्रीत छ । महाधिवेशनबाट एकीकृत समाजवादीले नयाँ नेतृत्व चयन त गर्दैछ नै, संगै नेतृत्वमा रुपान्तरण, हस्तान्तरण कि पुुस्तान्तरण भन्ने बहसले स्थान पाएको छ । नेतृत्व तहमा आंकाक्षीहरु खुुल्दै गर्दा महाधिवेशनमा सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुुंग्याउने भन्ने विषयमा नेताहरुबीच रस्साकस्सी भएको देखिन्छ । नेतृत्वको दौडमा वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुुषाल देखिएका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल सर्वसम्मत ढंगबाट नेतृत्वमा दोहोरिन चाहे पनि उनलाई अर्का पूूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता खनाल र महासचिव भुुषालले चुनौती दिने ठानिएको छ । नेतृत्वमा आंकाक्षीहरुबीच सहमतिको वातावरण बनिनसक्दा कतिपय शीर्ष नेताले अध्यक्षमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने सम्भावना देखेका छन् । नेतृत्वका लागि सहमतिकै वातावरण बन्नुपर्ने पक्षमा रहेका उपमहासचिव गंगालाल तुुलाधरले भने नयाँ व्यक्तिलाई तत्काल नेतृत्व सुम्पिन नसकिने बताएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल कम्युनिष्ट आन्दोलनका एक प्रमुख पात्र हुन् । विगतमा आफ्नो अडानमा कायम रहन नसकेको भन्दै आलोचित बन्ने गरेका उनले ठूलै जोखिम मोलेर एमाले विभाजन गर्दै एकीकृत समाजवादी गठन गरेका हुन् । त्यसैले कतिपयको दृष्टिमा नेपाल महाधिवेशनबाट अध्यक्ष बन्न खोज्नुलाई स्वभाविक मानिएको छ । अध्यक्ष नेपालसँग केही सन्दर्भमा वैचारिक रुपमा फरक मत राख्दै आएका पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले अध्यक्षका लागि दावी पेश गरेपनि खुलेर आफ्नो पक्षमा माहोल बनाउन सकेको देखिदैन । 

गत निर्वाचनमा पराजित भएपछि धक्का व्यहोरेका खनालसँग विगतमा एक कार्यकाल एमालेको अध्यक्ष चलाएको अनुभव छ । यता, एमालेमा रहँदा दोस्रो पुस्ताको नेता भनेर चिनिने एकीकृत समाजवादीका महासचिव भुषाल भने पुस्तान्तरणको मुद्धा उठाएर नेतृत्वमा आउन खोजिरहेका छन् । यो अवस्थामा एकीकृत समाजवादीले कसरी नेतृत्व चयन गर्छ त्यो भने हेर्न बाँकी छ । नेतृत्व चयनसँगै एकीकृत समाजवादीलाई एमालेबाट विभाजित भएर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि गर्दै अघि बढ्नुपर्ने चुनौती छ । २०७८ को भदौंमा एमाले विभाजन गर्दै बनेको पार्टीले २०७९ मंसिरको निर्वाचनमा १० सिट मात्र जित्नु र राष्ट्रिय पार्टी बन्न नसक्नुको पीडा कायमै छ ।

 चुनावपछि कतिपय केन्द्रिय नेता र जिल्ला तहका कार्यकर्ता एमालेमा फर्किने क्रम बढिरहेकाले एकीकृत समाजवादीलाई चुनौती थपिएको हो । वर्तमान सत्तासमीकरणमा सामेल एकीकृत समाजवादीलाई महाधिवेशनबाट सांगठानिक रुपमा बलियो र अन्य पार्टीभन्दा फरक बनाउन चाहेको नेताहरुको भनाइ छ । त्यसैले पनि महाधिवेशनबाट नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याउने तयारी सो पार्टीले गरेको छ । समाजवादी कार्यक्रमलाई व्यवहारमा उतार्न सकेमात्र विद्रोहको औचित्य पुुष्टि हुने र पार्टी बलियो बन्नेसचिव जीवराम श्रेष्ठले बताए ।

कम्युुनिष्ट आन्दोलनमा योगदान पुु¥याएका थुुप्रै नेताहरु आफ्नो पार्टीमा रहेको दावी एकीकृत समाजवादीका नेताहरुले गर्ने गरेका छन् । तर पदाधिकारी तहका नेताले छोटो अवधिमै पार्टी छाडेर एमाले प्रवेश गर्दा समाजवादीलाई धक्का लागेको छ । केही समय एकीकृत समाजवादीमा रहेर एमालेमा फर्किएका नेता मुुकुन्द न्यौपाने माधव नेपाल नेतृत्व पार्टीले उठाएको राजनीतिक एजेन्डाको अर्थ नै नरहेको बताउँछन् ।

एकीकृत समाजवादीको महाधिवेशनलाई एमालेले नजिकबाट नियालिरहेको छ र ती पार्टीका नेताले एकीकृत समाजवादीको राजनीति भविष्य नै नरहेको भन्न रुचाउँछन् । एकीकृत एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ एकीकृत समाजवादीको महाधिवेशनपछि थुप्रै नेताहरु एमालेमा फर्किने बताए ।

महाधिवेशनबाट नेतृत्व चयन तथा वैचारिक र सैद्धान्तिक धरालत बलियो बनाउने दावी एकीकृत समाजवादीका नेताले गर्दै आएका छन् । विश्लेषक डम्बर खतिवडाले एमालेबाट विभाजन भएर एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको बताए । एकीकृत समाजवादीलाई समग्र राजनीतिमा आफ्नो भूमिका प्रष्ट पार्नुपर्ने विश्लेषक खतिवडाको सुझाव छ ।

 नेपाली कंग्रेस, माओवादी केन्द्र लगायत दलसँगको गठबन्धनबाट अपेक्षा अनुसार चुनाव जित्न नसकेपनि संसदीय अंकगणितको फाइदा उठाएर सत्तासमीकरणमा जोडिएको एकीकृत समाजवादीको महाधिवेशनपछि राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव ल्याउने हो त्यसका लागि अर्को सातासम्म कुर्नुपर्नेछ । किनभने उसले आफूलाई अन्य कम्युनिष्ट दल भन्दा पृथक देखाउँछ वा पार्टीको भविष्य फराकिलो भएको सन्देश दिन सक्छ या सक्दैन भन्ने सवाल मुखरित भएको छ । यसैबीच, एकीकृत समाजवादीमा २ सय ९९ जनाको केन्द्रीय कमिटि बन्ने भएको छ ।


प्रतिक्रिया