सामुदायिक विद्यालयको गुणस्तर खस्किएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण

असार १७, २०८१ | काठमाडौं

सामुदायिक विद्यालयको गुणस्तर खस्किएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

हालै सार्वजनिक एसइइको नतिजाको प्रसंग उठाउँदै उनीहरुले सामुदायिक विद्यालयको गुणस्तर कमजोर भएको बताएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कंग्रेसका सांसद डा. चन्द्र भण्डारीले शिक्षा मन्त्रालयले नन–ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था गरेर आशा जगाएको बताउनुभयो । विश्वविद्यालय र विद्यालय तहको शिक्षाको गुणस्तर सुधारका लागि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

एमालेकी सांसद विद्या भट्टराईले संविधानमा उल्लेख भएका व्यवस्था कार्यान्वयन नहुँदा गुणस्तरीय शिक्षामा प्रश्नचिन्ह उठेको बताउनुभयो । एसईईको नतिजाले तीनै तहका सरकार , विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकको भूमिका चित्रण गरेको उहाँको भनाइ थियो ।

नेमकिपाका सांसद प्रेम सुवालले एसइई परीक्षामा विद्यार्थीको नतिजा कमजोर रहेको भन्दै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुपर्ने माग गर्नुभयो । यस्तै रास्वपाका सांसद शिव नेपालीले शिक्षा क्षेत्रको अनियमितताको अन्त्य गरी गुणस्तरीय शिक्षाको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  


प्रतिक्रिया