सरकार परिवर्तनको सम्भावना नरहेको माओवादी र रास्वपाको दाबी

असार १७, २०८१ | काठमाडौं

वर्तमान सत्ता गठबन्धनका माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार परिवर्तनको सम्भावना नभएको दावी गरेका छन् ।

एमाले र कंग्रेसका शीर्ष नेताबीच भएको छलफलपछि सत्ता समीकरण फेरिने चर्चा भएपनि माओवादी केन्द्र र रास्वपाले भने त्यसमा सत्यता नभएको बताएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रमुख दलका दुई नेताबीच भेटघाट हुँदैमा सत्ताको उलटफेर नहुने बताउनुभयो । यता, रास्वपाका सभापति एवम् वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तनको बिषय “हल्ला” मात्र भएको टिप्पणी गर्नुभएको छ ।

यसैबीच, कंग्रेस सभापति शेरवहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताबारे पार्टीमा व्रिफिङ गर्नुभएको छ । ओलीसँगको भेट सकारात्मक भएको धारणा देउवाले राखेको कंग्रेस नेताहरुले बताएका छन् ।

नयाँ सत्तासमीकरणको चर्चा बाँक्लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच आज पनि झन्डै दुई घण्टा छलफल भएको थियो । 


प्रतिक्रिया