शुक्रबार मध्यान्हबाट भैरहवा विमानस्थल सञ्चालन

असार २८, २०८१

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आज मध्यान्हबाट सञ्चालनमा आएको छ । मध्यान्हपछि विमानस्थलबाट उडान र अवतरण नियमित रुपमा सञ्चालन भइरहेको छ । अहिले काठमाण्डौंबाट आएका विमान अवतरण गरेर पुनः गन्तव्यमा उडान भरिरहेका छन् ।

विमानस्थलका सूचना अधिकारी बिनोद रावतका अनुसार सुरुमा हिजो राति आएर होल्ड गरिएका तीनवटा जहाज डिपार्चर भएका थिए । मध्यान्हबाट विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आइसकेको रावतले जानकारी दिनुभयो ।

रावतका अनुसार गएराति अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको बुद्ध एयरको जहाज अझैं हटाउन सकिएको छैन । जहाज संवेदशील हुने भएकाले सावधानी पुर्वक हटाउने काम भइरहेको उहाँले बताउनुभयो । विमानस्थलको धावनमार्ग लामो र फराकिलो भएकाले सञ्चालनमा बाधा नपुग्ने रावतले बताउनुभयो । चालकदलका सदस्य सहित ५९ जना सवार जहाज गएराति १० बजे अवतरण गर्नेक्रममा चिप्लिएको थियो । लगत्तै उद्धारकर्मीले सबै यात्रुलाई सुरक्षित निकालेका थिए ।


प्रतिक्रिया