एक चीन सिद्धान्तप्रति नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री
मंसिर १९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीति सिद्धान्त प्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । चीन भ्रमणका क्रममा बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरु ‘एक चीन सिद्धान्त’ प्रति प्रतिबद्ध रहेको’ बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले साझा समृद्धि र सफलता सहयोगको भावनामा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई ) मा राष्ट्रपति सी चिनफिङको दूरदर्शी पहलको प्रशंसा समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले बिआरआईबाट नेपालले लाभ लिने समेत दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले सह–अस्तित्व र स्थायी मित्रताको समृद्ध साझा इतिहासलाई दुई देशले प्रतिनिधित्व गर्नुपर्ने उल्लेख गर्नुभयो ।
यसैबीच, प्रधानमन्त्री ओलीले नेपालको मदन भण्डारी विज्ञान तथा प्राविधि विश्वविद्यालयको स्तरोन्नतीका लागि रणनीतिक सहकार्य गर्न पेकिङ विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । चार दिने औपचारिक चीन भ्रमणमा रहेका ओलीले आज बिहान पेकिङ विश्वविद्यालयमा सम्बोधनको क्रममा त्यस्तो आग्रह गर्नुभएको हो ।