शिक्षा नीति बहसमा कांग्रेस
मंसिर १९, २०८१
मुलुकको समग्र शिक्षा नीति नबनाएसम्म देश विकास नहुने सरोकारवालाले बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाललाई विदेशी विद्यार्थीका लागि उच्च शिक्षाको गन्तब्य बनाउनुपर्ने बताउनुभयो ।
विद्यालय तहदेखि उच्च शिक्षाको पाठ्यक्रममा परिमार्जन गर्न आवश्यक रहेको उहाँको भनाई थियो । अबको ५० वर्षका लागि मुलुकले अवलम्वन गर्नुपर्ने शिक्षा नीति निर्माणका लागि पहल गर्नुपर्ने देउवाले उल्लेख गर्नुभयो । पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा नीतिको चुरो बिषयमा राज्य, सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । लामो समय शिक्षा क्षेत्रमा आफ्नो लगानी रहेको भन्दै उहांले नियमावलीमा परिवर्तन गरेरै भएपनि शिक्षा क्षेत्रमा नयाँ आयाम थप्नुपर्ने बताउनुभयो ।
पूर्व मन्त्री विद्याधर मल्लिकले शिक्षा क्षेत्रमा कानुनी संरचना र सुधारको खाँचो रहेको बताउनुभयो । प्रारम्भिक बालविकासका विज्ञ डा. मिनाक्षी दाहालले बालबालिकासँग विभिन्न विषय जोडिने भएकाले शिक्षा क्षेत्रमा बढी ध्यान दिनुपर्ने बताउनुभयो ।