चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात

मंसिर २६, २०८१ | काठमाडौं

चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको अलैंची निर्यात भएको छ ।

भन्सार विभागका अनुसार चार महिनामा १२ लाख ६ हजार २ सय ५० किलो अलैंची निर्यात भएको हो । गत आर्थिक वर्षको चार महिनाको तुलनामा २५ करोड ४९ लाख ६२ हजार रुपैयाँले कम हो ।

गत वर्षको पहिलो चार महिनामा २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो । विभागका अनुसार सो अवधिमा १७ लाख ३७ हजार ११० किलो अलैंची निर्यात भएको थियो । 

विभागको तथ्यांकले परिमाण र मूल्यका आधारमा अलैंची निर्यात घटेको देखाए पनि विगत दुई वर्षयता उत्पादन समेत घटेको नेपाली अलैंची व्यवसायी महासंघले जनाएको छ । 

अलैंची उत्पादन ५० प्रतिशतले घटेकाले मूल्य भने १० वर्षपछि बढेको महासंघका अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो । उत्पादन घटेकाले गत वर्ष पनि प्रतिमन ९० हजार रुपैयाँमा कारोबार भएको उहाँले बताउनुभयो । 

पछिल्ला तीन वर्षयता समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको महासंघले जनाएको छ । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघको भनाई छ ।


प्रतिक्रिया