एन्फा महिला लिगमा आर्मीको जित

पुस २९, २०८१ | काठमाडौं

एन्फा महिला फुटबल लिगअन्तर्गत अन्तिम चरणको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीले बागमती युथ क्लबलाई ३–० ले हरायो ।

आर्मीका लागि सपना लामाले छैटौं मिनेटमा पहिलो गोल गरिन् । २२ औं मिनेटमा पुनम जर्घामगरले आर्मीको अग्रता दोब्बर पारिन् । 

३४ मिनेटमा आर्मीकी विमल चौधरीले पाएको पेनाल्टीमा गोल गर्न सकिनन् । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा आर्मीका लागि चन्द्रा भण्डारीले तेस्रो गोल गरिन् । 

जारी लिगको पहिलो चरणमा आर्मीले बागमती र वालिङलाई हराउँदा पुलिससँग बराबरी खेलको थियो । 

आर्मी एपिएफविरूद्धको खेलमा भने पराजित भएको थियो । 

जितसँगै दोस्रो स्थानको आर्मीको पाँच खेलबाट १० अंक भएको छ । 

चौथो स्थानमा रहेको बागमतीको समान खेलबाट तीन अंक छ ।

 लिगअन्तर्गत भोली हुने खेलमा स्याङ्जाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया