गर्भनर नियुक्ति तत्काल नहुने संकेत

वैशाख ३०, २०८२
सत्तारुढ कंग्रेस र एमालेबीच सहमति नहुँदा गर्भनर नियुक्ति तत्काल नहुने संकेत देखिएको छ । ५ सातादेखि रिक्त गर्भनर पदका लागि सत्तारुढ दलबीच सहमति नहुँदा केन्द्रिय बैंकले तत्काल नेतृत्व नपाउने अवस्था भएको हो । यसैबीच, कंग्रेसको तर्फबाट गर्भनरका लागि प्रस्तावित भनिएका अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध रिट निवेदन पेश भएको हो ।
रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐनको प्रतिकूल भएको दावी गर्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट पेश गर्नुभएको बताइएको छ । पौडेलले केही दिनअघि गर्भनर सिफारिस समितिबाट राजिनामा दिइसक्नुभएको छ । यसैबीच, निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो । अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको भन्दै रिट दर्ता गरेका थिए ।