नक्कली भारतीय नोट प्रकरणः ५ दिनको म्याद थप

जेष्ठ ११, २०८२
बाराका युनुस अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद पाएको छ । नक्कली भारतीय नोट प्रकरणमा ६ वर्ष कैद सजाय भुक्तान गरी छुटेका अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छुटेलगत्तै पक्राउ गरेको थियो ।
अन्सारीविरुद्ध सीआईबीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको छ । आज अदालतमा उपस्थित गराइएका अन्सारीमाथि थप अनुसन्धानका लागि ५ दिनको म्याद पाएको सीआईबीका एसएसपी होबिन्द्र बोगटीले बताउनुभयो । कैद मुक्त हुने भएपछि सीआईबीले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई गत बुधबार मात्रै पत्र पठाएको थियो ।
त्यही पत्रका आधारमा कारागारबाट रिहा भएलगत्तै सीआईबीले अन्सारीलाई हिजो नियन्त्रणमा लिएको थियो । अन्सारी २०६६ पुष १३ गते २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए ।