कर्मचारीको गल्तीमा गृहमन्त्रीको राजीनामा माग्नु गलत होः कांग्रेस नेता सिटौला

जेष्ठ ११, २०८२ | काठमाडौं
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कर्मचारीको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताउनुभएको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने माग भइरहेका बेला नेता सिटौलाले उहाँको बचाउ गर्नुभएको हो । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्न नहुने बताउनुभयो ।
यसअघि कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिनुभएको थियो । यसैबीच, सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीमाथि अनुसन्धान हुँदैमा गृहमन्त्रीले राजिनामा दिनु नपर्ने बताउनुभएको छ । एमाले पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री गुरुङले भन्नुभयो ।
भिजिट भिसाका नाममा रकम उठाएको विषयमा अध्यागमनका केही कर्मचारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । उनीहरुसँग बयान लिने काम बाँकी रहेको बताइएको छ । यही पृष्ठभूमिमा गृहमन्त्री लेखकको नाम जोडिएको समाचार प्रकाशित भएपछि राजिनामा माग भइरहेका हुन् । मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएपछि यो विषय बाहिर आएको हो ।