सिन्धु जल सम्झौताप्रतिको निलम्बनमा पाकिस्तानको आपत्ति

जेष्ठ ११, २०८२
सिन्धु जल सम्झौतामा भारतले लगाएको निलम्बनलाई लिएर पाकिस्तानले संयुक्त राष्ट्रसंघमा आपत्ति जनाएको छ । पाकिस्तानले भारतको सो कदम अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको र २४ करोड मानिसको जीवन खतरामा पारेको बताएको छ । राष्ट्रसंघको बैठकमा पाकिस्तानका प्रतिनिधि उस्मान जादुनले भारतको निर्णय अन्तर्राष्ट्रिय नियम र मानव अधिकारको उल्लंघन भएको बताउनुभएको हो ।
उहाँले सो कदमको निन्दा गर्दै नदीबाट पानी रोक्ने वा अवरोध गर्ने काम नगर्न भारतसँग अपिल समेत गर्नुभएको छ । यी नदीहरू लाखौं पाकिस्तानीको लाइफ लाइन भएको बताउँदै पानीलाई हतियारको रुपमा प्रयोग गर्न बन्द गर्न भारतलाई पाकिस्तानले आग्रह समेत गरेको छ । पाकिस्तानका प्रतिनिधि जादुनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई सो विषयमा निगरानी राख्न र आगामी दिनमा उत्पन्न हुन सक्ने संकटबारे समयमै कदम चाल्न अपिल गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।