वैदेशिक रोजगारीका नाममा ११ करोड ठगी, २ जना पक्राउ

जेष्ठ २७, २०८२ | काठमाडौं

वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै विभिन्न व्यक्तिबाट ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मालाई पक्राउ गरेको हो ।

 दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार, आफू ठगी भएको भन्दै ३८ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् ।

 यसैबीच, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुरका ४४ वर्षीय रबिन्द्र बासुकलालाई प्रहरीले पक्राउ गरेको छ । रबिन्द्रले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहिन भएको प्रहरीको अनुसन्धाबाट खुलेको छ । 


प्रतिक्रिया