शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अनिश्चित

जेष्ठ २७, २०८२
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले समय मागेपछि स्थगित भएको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अनिश्चित बनेको छ । मन्त्री पन्तले जेठ ११ गतेको बैठकमा एक साताका लागि मागेको समय घर्किए पनि अझै छलफल शुरु हुन नसकेको हो ।
समिति सभापति अम्मर बहादुर थापाले रेडियो कान्तिपुरसँग कुरा गर्दै जेठ ३१ गते बैठक बस्ने तयारी भएको बताउनुभयो । शिक्षकहरुको अधिकांश माग सम्बोधनका लागि समितिले तयारी गरेपनि संसदीय समितिको निर्णय उल्ट्याउन खोजेको उहाँको भनाइ छ । यता, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिव सापकोटाले यसअघिका मन्त्री विद्या भट्टराईले अघि सार्नु भएको खाका कार्यान्वयनका लागि मन्त्रालय तत्पर रहेको दाबी गर्नुभयो ।
महासंघ र सरकारबीच भएको ९ बुँदे सहमति अनुसार नै असार १५ गते नै विद्यालय शिक्षा विधेयक पारित गर्ने दावी मन्त्री पन्त र मन्त्रालयका अधिकारीहरुले गरिरहेका छन् ।