कार्यकर्ता भेट्न पार्टीसँग अनुमति लिनुपर्दैनः पूर्वराष्ट्रपति भण्डारी

जेष्ठ २७, २०८२ | काठमाडौं
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तासँग भेटघाट गर्न एमालेसँग अनुमति लिइरहनुपर्ने कुनै आवश्यकता नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिइरहनु नपर्ने बताउनुभयो ।
अर्को प्रसंगमा एमालेभित्र आफूले गुटगत राजनीति थालेको आरोपबारे प्रतिक्रिया दिँदै भण्डारीले आफु कहिल्यै गुट बनाउने मान्छे नभएको बताउनुभयो । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि पार्टीमा गुटबन्दी नगर्न चेतावनी दिनुभएको थियो । ओलीले केही दिनअघि दिएको अभिव्यक्ति आफूप्रति लक्षित नभएको भण्डारीको भनाइ थियो ।
राजनीतिक गतिविधिमा भण्डारी सक्रिय भएसँगै एमालेको आन्तरिक जीवनलाई प्रभावित पारेको छ । भण्डारीलाई पार्टी राजनीतिमा ल्याउन कतिपय नेताहरुले पहल गरिरहेको बताइन्छ ।