विश्वभर झन्डै १३ करोड ८० लाख बालबालिका बाल श्रममा संलग्न

जेष्ठ २९, २०८२ | काठमाडौं
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सन् २०२४ मा विश्वभर झन्डै १३ करोड ८० लाख बालबालिका बाल श्रममा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।
जसमध्ये ५ करोड ४० लाखभन्दा बढी बालबालिका स्वास्थ्य, सुरक्षा वा मानसिक विकासमा गम्भीर असर पार्ने जोखिमयुक्त काममा संलग्न रहेको उल्लेख छ ।सन् २०२० यता २ करोड २० लाख बालबालिका बाल श्रमबाट मुक्त भए पनि सन् २०२५ सम्म बाल श्रमको पूर्ण उन्मूलन गर्ने विश्व लक्ष्य भने अधुरै रहेको प्रतिवेदनको निष्कर्ष छ ।‘बाल श्रमः विश्वव्यापी अनुमान २०२४, प्रवृत्तिहरू र भावी बाटो’ नामक प्रतिवेदन विश्व बाल श्रम विरोधी दिवस को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो ।
प्रतिवेदनको तथ्यांकअनुसार बाल श्रमको ६१ प्रतिशत कृषि क्षेत्रमा रहेको उल्लेख गरेको छ ।सम्भावित विश्वव्यापी आर्थिक संकटसँगै शिक्षा, सामाजिक सुरक्षा र जीविकोपार्जनमा लगानी कटौती हुँदा बाल श्रममा पुनः वृद्धि हुने चेतावनी प्रतिवेदनमा दिइएको छ । प्रतिवेदनले गरिबी, गुणस्तरीय शिक्षाको अभाव र सामाजिक सुरक्षाको कमी बाल श्रमका मुख्य कारण रहेको उल्लेख गरेको छ ।त्यस्तै, आईएलओ र युनिसेफले बाल श्रम उन्मूलनका लागि सामाजिक सुरक्षा प्रणालीमा लगानी गरी बाल भत्ताको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
यसैबीच, आज जुन १२ तारिखमा अन्तर्राष्ट्रिय बालश्रमिक विरुद्धको दिवस मनाईंदैछ । रोजगारदाता, श्रमिक संगठन लगायतले बाल श्रमिक विरुद्धको आवाज उठाउंदै यो दिवस मनाउंदैछन् ।