खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसारको संख्या बृद्धि

असार ८, २०८२ | बर्दिया
बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसारको संख्या बढेको छ । पछिल्लो एक वर्षयता कृष्णसारको संख्या २६ वटा बढेर २ सय ५५ वटा पुगेका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा २ सय २४ वटा कृष्णसार थिए । फ्याउरो, स्यालको आक्रमणमा १९ वटा कृष्णसार मारिएका थिए ।
तीमध्ये एउटालाई कुकुरले मारेको छ । चालू आवमा कृष्णसार बढ्नुका कारण पर्याप्त घाँसे मैदान, पिउने पानीको व्यवस्थाले बाहिर निस्कन नपरेको र नियमित गस्तीसँगै अनुगमन नै भएको कृष्णसार संरक्षण क्षेत्रका निमित्त प्रमुख रामु केसीले बताउनुभयो । कृष्णसार बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुर क्षेत्रमा फैलिएर रहेका छन् । गत आवमा चितुवाको आक्रमणमा ७ वटा कृष्णसार मारिएका थिए । यस आवमा भने चितुवाको आक्रमण भएको छैन ।
संरक्षण समितिका अध्यक्ष दीपेन्द्र यादवले कृष्णसार जोगाउन संरक्षित क्षेत्रमा अनाधिकृत रुपमा बसेको बस्ती हटाउनुपर्ने बताउनुभयो । वास्तविक भूमिहीन छानबिन गरी उनीहरुको व्यवस्थापन हुनुपर्ने उहाँको भनाइ छ । ७ सय ८ बिघा क्षेत्रफल रहेको संरक्षित क्षेत्रमा ३ सय ५० बिघा बढी जग्गा भूमिहीनका नाममा भएकाले समेत अतिक्रमण गरेको कृष्णसार संरक्षण समितिले जनाएको छ ।