एसीसी यू–१६ इस्ट जोन कपः नेपालको विजयी सुरुवात, सिंगापुर ६ विकेटले पराजित

असार ८, २०८२ | काठमाडौं
मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हरायो । १ सय ३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ५५ रन जोडे ।
रौनक श्रीवास्तवले ४० रन बनाए । सिंगापुरका आकाश तेजाले ३ तथा युभान पाण्डेले १ विकेट लिए । त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३६ ओभर १ बलमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो । सिंगापुरका कप्तान रियन नायक ५३ रन जोडे । नेपालका लागि कप्तान विपिन शर्माले ४, सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट लिए । जितसँगै नेपालले २ अंक जोडेको छ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् । अब नेपालले दोस्रो खेल पर्सि मंगलबार जापानसँग खेल्दा, तेस्रो खेल आगामी आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल असार २१ मा हुनेछ ।