नेपाल–चीन जोड्ने मितेरी पुल पुनःनिमार्ण सुरु

श्रावण ७, २०८२ | काठमाडौं
रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुलको पुर्ननिर्माण सुरु भएको छ । गत असार २४ गते आएकोे भीषण बाढीले बगाएको मितेरी पुललगायतका संरचनाको निर्माण सुरु गरिएको हो । रसुवागढीस्थित ल्हेन्दे खोलामा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको सडक विभागले जनाएको छ ।
मैत्री पुल रहेको ठाउँमा बेलिब्रिज तथा बाढीपहिरोबाट बगेका सडक लगायत संरचनाको निर्माण कार्य सुरु भइसकेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार चीन सरकारले निर्माण सुरु गरेको हो । बाढी पहिरोले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मका विभिन्न स्थानमा गरेर करिब एक किलोमिटर सडक बगाएको थियो । बाढी पहिरोले रसुवागढीबाट केरुङतर्फ जाने २५ किलोमिटर सडकमा समेत क्षति पु¥याएको छ ।
चीनले दसैँअघि नै मितेरी पुल भएको स्थानमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउने जनाएको छ । भदौ ३० गतेसम्म निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।
स्याफ्रुबेँसी–रसुवागढी सडकमा सवारी साधन सञ्चालनमा आइसकेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो सडकमा अहिले बस लगायत हलुका सवारी साधन मात्र सञ्चालनमा आएका छन् । ‘हेभी’ सवारी साधन सञ्चालनमा भने अझै रोक लगाइएको छ ।
२ सय ३ नेपाली स्वेदश फिर्ता
रसुवा नाकास्थित मितेरी पुल बगाएपछि चिनियाँ क्षेत्रमा अलपत्र परेका २ सय ३ जना नेपालीलाई स्वदेश ल्याइएको छ ।
भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीका कारण अलपत्र परेका उनीहरुलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइएको हो ।
रोजगारीको सिलसिलामा गएका तथा सवारी चालकका रुपमा कर्यरत उनीहरुलाई केरुङमा राखिएको थियो । चीनको परराष्ट्र विभागले उनीहरुलाई केरुङबाट तातोपानीस्थित मितेरी पुलमा ल्याएर आज सिन्धुपाल्चोक प्रशासनलाई जिम्मा लगाएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार गत असार २४ गते बाढी आएका दिन मितेरी पुलस्थित तिब्बतर्फ रहेको ७२ जना कन्टेनर चालकलगायतका नेपालीलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो ।