भारतले दिएको एउटा मुर्रा राँगो मर्यो

भाद्र ११, २०८२ | कास्की
भारतले २१ महिनाअघि उपहार दिएको १५ मध्ये एउटा मुर्रा राँगो मरेको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा रहेको मुर्रा केही दिन अघि भ्यागुते रोगका कारण मरेको हो । उक्त मुर्रा साउन १७ देखि बिरामी भएको र उपचारकै क्रममा मरेको कार्यालयका सूचना अधिकारी डा. महेन्द्र मल्लले बताउनुभयो । उहाँका अनुसार यो मुर्राको नाम ‘रोहित’ राखिएको थियो ।
भ्यागुते रोग पशुमा देखिने खतरनाक सरुवा रोग हो । भारतले दिएका १५ मध्ये ७ वटा मुर्रा २०८० मंसिरमा पोखरा लगिएको थियो । ५ वटा लहान र ३ वटा बाँकेस्थित राष्ट्रिय पशु प्रजनन्, कार्यालयमा पठाइएका थिए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा मुर्रा राँगो दिने सहमति भारतीय पक्षले गरेपछि सो बिषय निकै चर्चामा आएको थियो ।