साउदीमा सहकर्मीको हत्या गर्ने एक नेपालीलाई मृत्युदण्डको सजाय

भाद्र १६, २०८२ | काठमाडौं

साउदी अरेबियामा आफ्नै दुई नेपाली सहकर्मीको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएका कास्कीका ४५ वर्षीय पुष्पराज रानाभाटलाई मृत्युदण्ड दिइएको छ ।

तीनै तहका अदालतको फैसलालाई दमाम जेल प्रशासनले कार्यान्वयन गर्दै गत जेठ १९ गते मृत्युदण्ड दिएको हो । हत्याको घटना भने दुइ वर्ष अघिको हो । दमामस्थित तल्लो अदालतका अनुसार पुष्पराजले एउटै कोठामा बस्दै आएका ५० वर्षीय भाग्यनारायण राय र ४४ वर्षीय सरोजकुमार झाको २०८० असोज २ गते हत्या गरेका थिए। राय र झा दुवै महोत्तरीका हुन् । सोही मुद्दामा तल्लो तहको मृत्युदण्ड दिने फैसलालाई उच्च र सर्वोच्च अदालतले सदर गरेका थिए ।

सो घटनाको पृष्ठभूमि बारे विस्तृत विवरण सार्वजनिक भइनसकेको हाम्रा सहकर्मी होम कार्कीले जनाएका छन् । सो घटनाबारे जानकार परराष्ट्र मन्त्रालयका एक अधिकारीले आपसी विवादमा हत्याको घटना भएको बताएपनि अन्य विस्तृत विवरण बताउन चाहेनन् । साउदीमा सार्वजनिक कानुन अनुसार मृत्युदण्डको सजाय सुनाएपछि पीडित पक्षले ’ब्लडमनि’ लिएर माफी दिन सक्ने ब्यवस्था छ । यद्यपी, औपचारिक रुपमा सो मुद्दामा पीडित र पीडकबीच छलफल नै नभएको बताइएको छ ।

उनीहरु तीनै जना सामान्य श्रमिक थिए । साउदीका लागी नेपाली राजदुत नरेश विक्रम ढकालले मृत्युदण्डको सजाय कार्यन्वयन भइसकेपछि मात्रै दुतावासले यसबारे औपचारिक जानकारी पाएको बताउनुभयो । मृत्युदण्ड पाएकाहरुको शव परिवारलाई दिने व्यवस्था साउदी कानूनमा नभएको बताइएको छ ।  


प्रतिक्रिया