प्रतिनिधिसभाको बैठक जारी, रास्वपा र राप्रपाद्वारा बहिष्कार

भाद्र १८, २०८२ | काठमाडौं
नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ । सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने क्रम जारी छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज पनि बैठक बहिस्कार गरेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणलाई लिएर छानविन समिति गठन नभएको भन्दै बैठक बहिस्कार गरेका हुन् ।
बैठकको सुरुमा नै दुई दलले आफ्नो धारणा राखेर बाहिरिएका हुन् । त्यस्तै, बैठकको कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ । राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको जलस्रोत विधेयक आज टेबुल हुनेछ ।
आजै, गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ । यस्तै, राष्ट्रिसभाको बैठक पनि अहिले बसिरहेको छ ।