एमालेको सचिवालय बैठक आज बस्दै

भाद्र १९, २०८२ | काठमाडौं
विधान अधिवेशनको तयारी स्वरुप एमालेको सचिवालय बैठक आज बस्दैछ। भोलिदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनका विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो ।
बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय मुख्यालय च्यासलमा बस्नेछ ।
विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ ।
यिनै विषयमा आजको बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । स्थायी कमिटीमा कम्तीमा एक महिला अनिवार्य हुने प्रावधानसमेत प्रस्ताव गरिएको छ ।
विधान महाधिवेशनमा पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यताबारे छलफल गर्ने भण्डारी समूहले तयारी गरिरहदा आजको बैठकले सो विषयलाई पनि टुंगो लगाउने बताइएको छ । महासचिव शंकर पोख्रेलले भण्डारीको सदस्यताको विषयमा केन्द्रिय कमिटीले निर्णय गरिसकेकाले विधान महाधिवेशनको एजेण्डा नहुने बताउनु भयो ।
दुई ध्रुवमा विभाजित नेताहरूले फरक–फरक रणनीति बनाइरहेका छन्।असन्तुष्ट पक्षले संगठित रूपमै लिखित फरक मत पेश गर्ने तयारी गरेको छ ।
पार्टी सचिवालयमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी कमिटी सदस्य कर्ण थापाले खुलेर संस्थापनको विरोध गरिरहेका छन् ।
पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयको विरुद्धमा रहेका यी नेताहरूले संगठित रूपमै फरक मत पेश गर्ने तयारी गरेका हुन् ।
पार्टीको काम कारबाही, सरकारको काम, अध्यक्ष केपी ओलीको कार्यशैलीलगायत विषयमा लिखित रूपमै फरक दस्तावेज प्रस्तुत गर्ने तयारी भएको बुझिएको छ ।
आजको सचिवालय बैठकमा असन्तुष्ट समूहले यसबारे छलफल गर्ने र अध्यक्ष ओलीको प्रतिक्रियापछि थप रणनीति बनाउने बताएको छ ।
विधान महाधिवेशन भोलिदेखि आइतबारसम्म ललितपुरको गोदाबारीमा हुनेछ ।