राजनितिक दलका नेताहरुले दिए प्रधानमन्त्री शाहलाई बधाई

रेडियो कान्तिपुर संवाददाता

चैत्र १३, २०८२ | काठमाडौं

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई विभिन्न दलका नेताहरुले बधाइ दिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । ओलीले आफ्नो सन्देशमा नवनियुक्त प्रधानमन्त्री शाहसँगै मन्त्रिपरिषद्का सबै सदस्यलाई सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

यसैगरी. नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जाल मार्फत् बधाई दिनुभएको छ । उहाँले देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने उहाँले उल्लेख गर्नुभएको छ ।

यसैबिच नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जाल फेसबुक मार्फत् बधाई दिनुभएको छ । देउवाले प्रधानमन्त्री बालेन्द्र शाहलाई ’हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’ व्यक्त गर्नुभएको हो । स्वास्थ्य उपचारका लागि सिंगापुर गएपछि हाल हङकङमा रहेका देउवाले मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूलाई पनि शुभकामना दिनुभएको छ ।

यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष घिसिङले बालेनले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै फेसबुकमार्फत बधाई दिँदैसरकार सञ्चालनमा आफ्नो तर्फबाट आवश्यक सल्लाह सुझाव र खबरदारी रहने प्रतिक्रिया दिनुभएको छ ।

यस्तै काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै उहाँले आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सरकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको पनि स्मरण गराउनुभएको छ । उहाँले शाह नेतृत्वको सरकारले राष्ट्र र जनतामा जागेको आशाको दियो ननिभ्ने गरी आगामी दिनमा राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्ने आशा बोकेको पनि उल्लेख गर्नुभएको छ ।



प्रतिक्रिया