जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

रेडियो कान्तिपुर संवाददाता

चैत्र १३, २०८२ | काठमाडौं

जेन जी आन्दोलनपछि निर्धारित मितिमा निर्वाचन भएको तीन सातापछि मुलुकले नयाँ सरकार पाएको छ । झन्डै दुई तिहाई बहुमत ल्याएको रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनुभएको छ । शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा १ अनुसार शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

प्रधानमन्त्री शाहको शपथ लगत्तै अन्य मन्त्रीहरुले शपथ लिएका थिए । नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले आजै पदभार ग्रहण गरेका छन् । विगतमा मन्त्री नियुक्ति गरेर मन्त्रीमण्डललाई पूर्णता दिन महिनौसम्म लाग्ने गरेकोमा यसपटक एकै दिन सबै मन्त्रीले शपथ लिएर काम थालेका हुन् । संविधानले २५ जना मन्त्री बनाउने सुविधा दिएपनि यसपटक १४ जनालाई मात्र मन्त्री बनाइएको छ । 

प्रधानमन्त्री शाहले रक्षामन्त्री र उद्योगमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको छ । यसैबीच, नवगठित सरकारको पहिलो मन्त्रीपरिषद्को बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । सरकारले गत भदौ २३ र २४ गते भएको घटनासम्बन्धी गौरीवहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत निर्णय गरेको हो । 


प्रतिक्रिया