प्रधानमन्त्री शाहको विभिन्न देशका राजदूतसँग शिष्टाचार भेटवार्ता
चैत्र २५, २०८२ | काठमाडौं
विभिन्न देशका काठमाडौंस्थित राजदूत तथा कूटनीतिक नियोग प्रमुखले प्रधानमन्त्री बालेन्द्र शाहसँग संयुक्त शिष्टाचार भेट गरेका छन् । भेटमा भारत, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधि सहभागी थिए।
सो अवसरमा कूटनीतिक प्रतिनिधिले प्रधानमन्त्री शाहलाई बधाई दिँदै आफ्ना राष्ट्रप्रमुख तथा सरकार प्रमुखका सन्देश हस्तान्तरण गरेका छन् । साथै, नयाँ सरकारलाई नेपाली जनताको हितमा काम गर्न आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्याउँदै छिमेकी तथा मित्र राष्ट्रहरूसँग विश्वास र आपसी सम्मानका आधारमा सम्बन्ध सुदृढ गरिने बताउनुभएको छ । उहाँले नेपालका विकास प्रयासमा प्राप्त अन्तर्राष्ट्रिय सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो ।










