तीनजुरेमा धार्मिक पर्यटन मेला शुरु, एकै दिन ४० लाखको कारोबार

वैशाख १, २०७५ | तेह्रथुम

नयाँ वर्ष २०७५ को आगमन संगै पर्यटकीय नगर वसन्तपुर देखि तीनजुरे डाँडास्थित पाथीभरा मन्दिर सम्मको क्षेत्रमा धार्मिक पर्यटन मेला शुरु भएको छ । शनिबारबाट शुरु मेला तीन दिन सम्म चल्नेछ । मेलाको पहिलो दिन ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति रहेको मेला आयोजक समितिले जनाएको छ । 

ताप्लेजुङको पाथीभरा मन्दिर जान नसक्ने भक्तजनहरु यहाँ आएर आफुले चिताएको वर माग्छन् । २ हजार ८ सय मिटरको उचाईमा रहेको मन्दिरमा आएर दर्शन गर्दा चिताएको मनोकामना पूरा हुने धार्मिक विश्वास रही आएको छ । गुराँस जंगलबीचमा रहेको मन्दिरमा दर्शन गर्न र गुराँसे जंगलमा वनभोज खान आउनेहरुका कारण साता यता देखि नै बसन्तपुर देखि तीनजुरे मन्दिर सम्मको क्षेत्रमा भिडभाड बढेको छ । वैशाख १ गतेबाट शुुरु हुने मेला भर्न र दर्शन गर्नका लागि भारतको बिहार, दाजर्लिङ, विराटनगर, धरान, इटहरी, झापा लगायत पूर्वी तराई देखिका दर्शनार्थीको बाक्लो उपस्थिति छ ।

मेलामा पूर्वी पहाडी जिल्ला तेह्रथुम सहित संखुवासभा, धनकुटा, भोजपुर लगायत पहाडी जिल्लाका आन्तरिक पर्यटकको बाक्लो भीड छ । यस पटक भारतका बिहार देखिका पर्यटकको समेत बाक्लो उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सचिव छत्र बहादुर कार्कीले बताउनुभयो ।    

मन्दिरमा मेला भर्न आउनेहरुका कारण बसन्तपुर, टुटे, देउराली, डुँडपानी, घुर्मिसे, पाँचपोखरी, चौकी, मंगलबारे, कालापानी, चित्रे, पटेक डाँडा र गुफा बजारका सबै जसो होटल भरीभराउ छन् । मेलाको पहिलो दिन करीब ४० लाख रुपैयाँको आर्थिक कारोबार भएको मेला अयाोजक समितिले जनाएको छ । 

 


प्रतिक्रिया