खडेरी पीडित किसानलाई गाउँपालिकाले क्षतिपूर्ति दिने

श्रावण २३, २०७५ | तेह्रथुम

 तेह्रथुमको तमोर तटीय क्षेत्रका खडेरी पीडित किसानलाई छथर गाउँपालिकाले क्षतिपूर्ति दिने भएको छ । खडेरीले अन्न बाली सुकेर भोकमारी लाग्ने अवस्था आएपछि पीडित किसानलाई क्षतिको आधारमा राहत दिने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । 

मध्य बर्खामा समेत खडेरी लागेर अन्न बाली र फलफूल सुकेपछि किसानले गाउँपालिका समक्ष उचित क्षतिपूतिको माग गरेका थिए । खडेरीले पुर्‍याएको क्षतिको विवरण संकलन गरी राहत सिफारीस गर्न गाउँपालिकाले कार्यपालिका सदस्य, सम्बन्धित वडाका जनप्रतिनिधि र सोही वडाका कर्मचारी समेत परिचालन गरेको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताउनुभयो ।

सो टोलीको सिफारिसको आधारमा पीडित किसानलाई तत्काल राहात उपलव्ध गराईने लिम्बुले बताउनुभयो । मध्य बर्षातमा समेत पानी नपरेपछि ओख्रे, फाक्चामारा, हमरजुङ लगायत गाउँका किसान समस्यामा परेका छन् । खेतबारीमा लगाएको धान, मकै, कोदो लगायतका अन्न बाली सुकेर डडेलो लाग्ने अवस्थामा पुगेको किसानको भनाई छ । 

दुख गरेर लगाएको बाली पाक्न नपाउँदै सुकेपछि अनिकाल लाग्ने डरले किसान चिन्तामा परेका छन् । वडा नम्बर ३ का लागि वडा सदस्यहरु फौदराज लिम्बु, सरीता बिक, ईन्द्र कुमारी लिम्बु र कर्मचारी कुलबहादुर श्रेष्ठलाई क्षतिको विवरण संकलनको जिम्मा दिईएको छ ।

वडा ४ का लागि कार्यपालिका सदस्य विष्णुमाया थापा, वडा सदस्य पुष्प कार्की, श्रृजना सार्की र भुवनसिंह लिम्बुलाई जिम्मा दिईएको गाउँपालिका अध्यक्ष लिम्बुले बताउनुभयो ।

५ नम्बर वडामा वडा सदस्य बन्दना लिम्बु, कार्यपालिका सदस्य कमला नेपाली र वडा अध्यक्ष पुण्यप्रसाद ढकाललाई क्षतिको विवरण एकीन गरी राहत सिफारिस गर्न जिम्मेवारी दिईएको छ । क्षतिको एकीन विवरण संकलन भएर गाउँपालिकामा आएपछि राहत वितरण शुरु गरिने गाउँपालिका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।  

पीडित किसानलाई दुई वटा माद्यमबाट राहत वितरण गरिने गाउँपालिका अध्यक्ष लिम्बुले बताउनुभयो । अन्नबालीबाट मात्र जीवन गुजरा गर्दै आएका पीडित किसानलाई तत्काल राहात उपलब्ध गराउने र ती क्षेत्रमा खडेरीको दीर्घकालीन समाधानका उपाय समेतको खोजी गरिने गाउँपालिकाले तयारी गरेको छ ।

त्यस्तै अन्य पेशा, व्यवसाय र रोजगारीमा समेत रहेका किसानका परिवारलाई भने अलग ढंगबाट राहत वितरण गरिने प्रवक्ता नेपालीले बताउनुभयो ।

मकै, कोदो, फापर, गहत, जुनेलो, बदाम, धान लगायतका खाद्यान्न बालीको खेती गर्दै आएका किसानको यो वर्ष पानी नपरेपछि विजोग भएको छथर गाउँपालिका ४ फाक्चामाराका किसान दिपक लिम्बुले बताउनुभयो ।

गत वर्ष पनि प्रर्याप्त पानी नपर्दा किसानले प्रर्याप्त खाद्यान्न फलाउन पाएका थिएनन् । गत वर्ष देखि नै खाद्यान्न अभाव झेल्दै आएका जिल्लाका किसान यो वर्ष अनिकाल नै लाग्ने चिन्तामा परेका छन् ।  

खडेरीले खेतबारी र जंगलमा रहेको घाँस समेत सबै सुकेपछि पशु चौपायालाई समेत समस्या भएको ३ नम्बर वडा अध्यक्ष तुलसीजंग थापाले बताउनुभयो ।

किसानले पालेका पशु वस्तुलाई खुवाउन हरियो घाँसको अभाव भएको उहाँले बताउनुभयो । गाउँकै पुछारबाट तमोर नदी बगिरहेको भएपनि त्यसको फाईदा किसानले लिन पाएका छैनन् ।

खडेरीका कारण लगाएको सबै अन्नबाली सुकेपछि धेरै किसान समस्यामा परेका छन् । सिंचाई अभावमा यस क्षेत्रका किसानले वर्षेनी अनिकालको सामना गर्नु परिरहेको स्थानीय सिद्धीमान लिम्बुले बताए ।

तमोर नदीमा खेर गैरहेको पानी लिफ्टिङ गरेर माथि बस्ती सम्म ल्याउन सके सयौं किसानलाई राहत पुग्ने उनले बताए । जिल्लाका ५ सय बढी किसानले लगाएको अन्नबाली खडेरीले सुकेको उनको भनाई छ । 


प्रतिक्रिया