‘उखुको मूल्यमा सहमति, चिनी मिल संचालन हुने’

पुस २६, २०७५ |  सिमरा

लामो समय देखि उखुको मूल्य निर्धारण विवादका कारण बन्द रहेको चिनी मिल ढिलो भएपनि संचालन हुने भएको छ । बुधबार महोतरीको बर्दिबासमा उखु किसान महासंघ र चिनी उत्पादक महासंघबीचको बैठकले मूल्य निर्धारण विवाद टुंग्याएपछि चिनी मिल संचालन हुने भएको हो ।

विवाद समाधान पछि तयारी अवस्थामा रहेको आफ्नो चिनी मिल आईतबार देखि नै संचालन गरिने रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालिका संचालक राजकुमार अग्रवालले बताउनुभयो ।

‘हामी पहिला देखि नै तयारी अवस्थामा थियौं,’ उहाँले भन्नुभयो, ‘मूल्य विवादका कारण चिनी मिल संचालन हुन सकेको थिएन ।’ चिनी मिल संचालन गर्न कम्तीमा १५ हजार क्विन्टल उखु यार्डमा पुगेको हुनु पर्दछ । सो परिमाण बराबरको उखु यार्डमा पुगे चिनी मिल संचालन गर्न सकिने उहाँले बताउनुभयो ।

किसानलाई उखु कटान बुधबार देखि नै चलान काटेर वितरणको लागि सेन्टरमा पठाईएको उहाँले बताउनुभयो । आगामी आईतबार सम्ममा उद्योग संचालन गर्न चाहिने उखु यार्डमा पुग्ने विश्वास लिईएको उद्योग प्रशासनले जनाएको छ । 

बैठकमा ४ सय ७१ रुपैयाँ २८ पैसा उद्योगले तिर्ने पर्ने र ६५ रुपैयाँ २८ पैसा सरकारले अनुदान स्वरुप रकम किसानलाई उपलब्ध गराउनु पर्ने सहमति भएको छ । उद्योगले दिने उखुको मूल्य र सरकारी अनुदान रकम जोडेर यसवर्ष ५ सय ३६ रुपैयाँ ५६ पैसा उखुको मूल्य निर्धारण गरिएको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष विरेन्द्र कुशवाहाले बताउनुभयो ।

‘यस वर्षको लागि यही अन्तिम मूल्य हो,’ उहाँले भन्नुभयो ‘जति विवाद लम्बिन्छ त्यति नै किसानले नोक्सान व्योहोर्नु पर्छ ।’ गत वर्ष ५ सय ३१ रुपैयाँ २० पैसा प्रति क्विन्टलमा उखु बिक्री भएको थियो । ५ रुपैयाँ ३६ पैसा मिलले अझै बाँकी राखेको छ । यस वर्ष सुरुमा लागेकै दरमा गत वर्ष पनि उखु बिक्री भएको उहाँले बताउनुभयो ।  

किसान आन्दोलनका कारण सरकारले नै यस वर्ष ५ सय ३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको थियो । सोही मूल्यलाई बैठकले अन्तिम रुप दिएको उहाँले जानकारी दिनुभयो । 

बैठकमा कम्तीमा ७७ रुपैयाँ प्रतिकिलो चिनी बिक्री मिल गेटबाटै बिक्री हुनु पर्ने सहमति भएको चिनी उत्पादक महासंघका उपाध्यक्ष समेत रहेका राजकुमार अग्रवालले बताउनुभयो । ‘सरकारले ६० हजार टन चिनी बफ्र स्टोक गर्‍यो भने, चिनीको मुल्यमा समस्या रहँदैन,’ उहाँले भन्नुभयो, ‘यसो गर्दा चिनीको मूल्य सन्तुलन रहन्छ ।’ 

सरकारले चिनी उद्योगको लागि सफ्ट लोनको व्यवस्था गर्नु पर्ने किसानहरुको माग छ । उखु क्रसिङ्गको हिसाबले कम्तीमा ४० प्रतिशत सहुलियत ऋण सरकारले उपलब्ध गराए उखु किसानलाई समयमै भुक्तानी दिन सहयोग मिल्ने उहाँले बताउनुभयो ।

‘ऋण उपलब्ध भए ६/७ महिना मै भुक्तानी पुरा गरिदिन्छु,’ उहाँले भन्नुभयो, ‘ऋण उपलब्ध नभए भुक्तानीमा समस्या हुन्छ ।’ मूल्य विवादकै कारण चिनी मिल समयमा संचालन हुन नसकी झन्डै एक महिना ढिलो भएको उहाँले उल्लेख गर्नुभयो ।  

उखु उत्पादक किसान संघले ५ सय ४३ रुपैयाँ उखुको मूल्य निर्धारण गरिनु पर्ने माग राखेपछि किसान महासंघ र चिनी उद्योगीसंग विवाद बल्झिएको थियो ।

किसान संघको माग अनुसार उखुको मूल्य दिन नसक्ने चिनी मिल संचालकले अडान लिएपछि किसान संघ र चिनी मिलबीच विवाद बल्झिएको थियो ।

नयाँ र पुराना गरी साढे १४ हजार विगहा क्षेत्रफलमा बारा र पर्सामा उखु खेती गरिएको चिनी मिलले जनाएको छ । गत वर्ष १० हजार ५१ किसानले उखु खेती गरेका थिए भने, अहिले त्यो तथ्यांक बढेर १३ हजार ३ सय २४ मा पुगेको चिनी मिलले जनाएको छ ।

‘अहिले नयाँ २ हजार ८ सय ९१ बिगाहा क्षेत्रफलमा उखु खेती थपिएको छ,’ केन शाखाका कर्मचारी नन्दलाल कुशवाहाले भने, ‘३ हजार २ सय ९१ नयाँ किसान उखु खेती गर्ने सूचीमा सामेल भएका छन् ।’

उद्योगले गएको सिजनमा बारा र पर्साका गरी १० हजार ५१ जना किसानबाट उखु खरिद गरेको थियो । किसानले गत वर्ष १० हजार ७ सय ७७ बिगाहा क्षेत्रफलमा उखु खेती गरेका थिए । उखु उत्पादनमा राम्रो हुन थालेपछि किसान उखु खेती तर्फ आकर्षित हुँदै गएका छन् ।

गत वर्ष प्रतिदिन २ हजार ५ सय टन क्षमतामा उखु क्रसिङ्ग गरेको उद्योगले यसपाली १ हजार टन क्षमता थपेर ३ हजार ५ सय टनमा पुर्‍याएको जनाएको छ । अब यसले ३ हजार ५ सय देखि ४ हजार मेट्रिक टन सम्म प्रतिदिन उखु पेल्ने उद्योग प्रशासनले जनाएको छ ।

यो सिजनमा ३८ हजार देखि ४० हजार मेट्रिक टन उखु पेल्ने लक्ष्य उद्योगले लिएको छ । गएको सिजनमा चिनी मिलले २९ लाख १ हजार ७ सय क्विन्टल उखु क्रसिङ्ग गर्दा २ लाख ५५ हजार ८ सय ६० क्विन्टल चिनी उत्पादन भएको उद्योग प्रशासनले जनाएको छ ।

किसानले उखु काट्न थाले

चिनी मिल संचालन हुने निधो भएपछि किसानले बिहीबार देखि उखु काट्न थालेका छन् । चिनी मिलले बुधबार साँझ नै चलान वितरण भएको सूचना मोबाईलको म्यासेज मार्फत पठाएपछि किसानले उखु काट्न थालेका हुन् । 

‘हिजो साँझ नै मोबाईलमा म्यासेज आयो,’ उखु कटान सुरु गरेका बारा उत्तर झिटकैयाका किसान छबीलाल यादवले भने, ‘बिहान चलान पनि हातमा आई पुग्यो ।’ हातमा चलान आईपुगेपछि उखु कटान सुरु गरिएको उनले जानकारी दिए । 


प्रतिक्रिया