पाईपलाईन रुटको रुख नकाटिँदा पाईप बिछ्याउने काम सुस्त

फाल्गुन २५, २०७५ | सिमरा

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको एक किलोमिटर खण्डमा पेट्रोलियम पाईप बिछ्याउने काम सकिएको छ । पथलैया–अमलेखगञ्ज पाईपलाईन जोड्न झन्डै साढे ८ किलोमिटर पाईप बिछ्याउनु पर्छ । तर टिम्बर कर्पोरेशनले रुख कटान गर्ने जिम्मा लिएपनि समयमा पाईपलाईन रुटको रुख नकाटिँदा पाईप बिछ्याउने काम सुस्त भएको पाईपलाईन परियोजनाका अधिकारीले बताएका छन् ।

पातलो झाडी रहेको एक किलोमिटरको रुटलाई १० दिनमा सफा गरी एक किलोमिटर दूरीमा खाल्डो खनी पाईपलाई वेल्डिङ्ग गर्ने काम सकिएको मोतिहारी–अमलेखगञ्ज परियोजना कार्यालय सिमराका ईन्जिनियर शरद पौडेलले बताउनुभयो । 

‘जति सक्दो पाईपलाईन रुटको रुख पन्छाईन्छ, त्यति नै छिटो पाईप बिछ्याउने काम सकिन्छ,’ उहाँले भन्नुभयो, ‘समयमा निकुञ्ज क्षेत्रको रुख नकाटिँदा पाईप बिछ्याउने काम ढिलो हुँदै गएको छ ।’ चाडो भन्दा चाडो निकुञ्जको रुख काटेर पाईप बिछ्याउने कामलाई सहज बनाउन उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

वन क्षेत्र भएकै कारण पथलैया–अमलेखगञ्ज निकुञ्ज क्षेत्रमा पाईपलाईन बिछ्याउन ३ महिना ढिलो हुन गएको परियोजनाका अधिकारीले बताए । संघीय सरकारको मन्त्रिपरिषद बैठकले यही माघ ३ गते भएको बैठकको निर्णय अनुसार पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले निकुञ्ज क्षेत्रको रुख काटेर पेट्रोलियम पाईपलाईन बिछ्याउने अनुमति दिएको छ । अनुमति पाएपछि परियोजनाका अधिकारीले अमलेखगञ्ज आयल निगम भन्दा दक्षिण क्षेत्रको झाडी सफा गरेर १० दिन देखि  पाईपलाईन बिछ्याउने काम सुरु गरेका थिए ।

आगामी बैशाख देखि पाईपलाईन मार्फत अमेलगञ्जमा तेल भित्र्याउने लक्ष्य लिईएपनि रुख काट्ने ढिलाई भएको कारण पाईप बिछ्याउने काम ढिलो हुने देखिएको अधिकारीहरुको ठम्याई छ । मोतिहारी–अमलेखगञ्ज पाईपलाईनको कुल दूरी ६९ किलोमिटर रहेको नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादवले बताउनुभयो ।

ती मध्ये ३२ दशमलव २० किलोमिटर पाईपलाईन भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर पाईपलाईन नेपाल क्षेत्रमा पर्दछ । भारतको रक्सौल देखि पथलैयासम्म पर्ने २७ किलोमिटर दूरीमा पाईपलाईन गाड्ने काम सम्पन्न भएको छ । निकुञ्ज क्षेत्र बाहेकको ६० किलोमिटर दूरीमा पाईपलाईन गाड्ने काम सम्पन्न भईसकेको उहाँले जानकारी दिनुभयो । 

‘निकुञ्ज क्षेत्रको साढे ८ किलोमिटर क्षेत्रमा एक महिना भित्र पाईप गाड्ने काम सकिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि पाईपलाईन टेष्टीङ्गको काम सुरु गर्छौ ।’ पाईपलाईन टेष्ट गर्न झन्डै १५ दिन समय लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । यसरी सबै प्रक्रिया पूरा गरी बैशाखको पहिलो साता सम्ममा पाईपलाईनबाट तेल भित्र्याउन सकिने तयारीमा आयल निगम जुटेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार, निकुञ्ज क्षेत्रको रुख कटान अनुमति दिईने काम ढिलो भएको कारण पाईपलाईनबाट तेल भित्र्याउने लक्ष्य निर्धारित समयमा भेटाउन नसकिएको उहाँले बताउनुभयो । वन क्षेत्रकै कारण पाईपलाईनबाट तेल भित्र्याउन समयावधी ढिलो हुन गएको उहाँले जानकारी दिनुभयो । अबको डेढ महिनामा पाईपलाईन गाडने र टेष्ट गर्ने सबै काम सम्पन्न गरी सक्ने उहाँले दाबी गर्नुभयो ।  

निकुञ्ज क्षेत्रको रुख काट्न प्रक्रिया पु¥याएर अनुमति लिनमै ६ महिना समय लाग्यो । पथलैया देखि अमलेखगञ्ज सम्मको निकुञ्ज क्षेत्रको पाईपलाईन गाडने रुटबाट ८ वटा ब्लक मार्फत ६ हजार ५ सय ६३ वटा रुख तथा पोल काटिन्छ । त्यस्तै, उक्त रुटबाट ८१ हजार ६ सय लाथ्राहरुको कटान, मुछान, ढुवान, पाईलिङ्ग, घाटगद्दी, जर्रा उखेल्ने लगायतका काम हुने उहाँले जानकारी दिनुभयो । निकुञ्ज कार्यालयबाट खटिएका कर्मचारीको रोहबरमा टिम्बर कर्पोरेशन शाखा कार्यालय पथलैयाले रुख कटान मुछान गर्ने नेपाल आयल निगमले जनाएको छ ।

८ वटै ब्लकबाट काटिएको रुखबाट ५२ हजार १ सय २४ दशमलव २४ क्यू फिट काठ र १ सय ८८ दशमलव ८६ चट्टा दाउरा संकलन हुने अनुमान टिम्बर कर्पोरेशनले गरेको छ । निकुञ्ज क्षेत्रमा पाईप गाडीए पछि बरौनी–पटना–कानपुर पाईपलाईन मध्ये पटनाबाट सीधै तेलको लागि पाईपलाईन जडान गरिने मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन परियोजना कार्यालय सिमराले जनाएको छ । 

तेल भण्डारण गर्न यस अघि अमलेखगञ्ज डिपोमा रहेको ४ वटा पुराना ट्यांकीलाई भारतीय ठेकेदार मार्फत मर्मत कार्य भईरहेको छ । जसमध्ये २ वटा ट्यांकीको मर्मत कार्य सम्पन्न भईसकेको परियोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा १६ हजार किलोलिटर तेल भण्डारण गर्न सक्ने पूर्वाधार तयार गरिएको छ । तेल भण्डारण गर्न थप ६÷७ वटा भर्टिकल ट्यांक बढाउने योजना नेपाल आयल निगमले बनाएको जनाएको छ । अहिले दैनिक २ सय ट्यांकर रक्सौलस्थित डिपोबाट ईन्धन भर्छन । बैशाख देखि इन्धन भर्न रक्सौल पुग्नु पर्ने बाध्यता हटने जनाएको छ । 

२ सय ७५ करोड भारु खर्चमा परियोजना सम्पन्न गर्ने लक्ष्य लिईएपनि पाईपलाई क्षेत्रमा पर्ने घर क्षेत्रमा पाईपलाईन व्यवस्थित पार्न खर्च बढेकोले परियोजनाको कुल खर्च अहिले ३ सय २४ करोड भारु पुगेको परियोजनाका अधिकारीले जानकारी दिए । 

पाईपलाईनबाट तेल भित्रिने काम सुरु भएपछि नेपाल आयल निगमले इन्धन ढुवानीमा खर्च गर्दै आएको रकम मध्ये झन्डै ३ देखि ५ अर्ब रुपैयाँ खर्च बचत हुने अनुमान आयल निगमले गरेको छ । 


प्रतिक्रिया