स्याङ्जाका तीन स्थानमा शीत भण्डारण केन्द्र बन्ने

जेष्ठ २५, २०७६ | स्याङ्जा

स्याङ्जाका विभिन्न तीन स्थानमा शीत भण्डार केन्द्र निर्माण थालिएको छ । उत्पादिन कृषि वस्तुको भण्डारणको अभावमा कुहिने र बिग्रिने कृषकको समस्यालाई ध्यानमा राख्दै जिल्लाका ३ ठाउँमा शीत भण्डार केन्द्र निर्माण थालिएको हो । पुतलीबजार नगरपालिका–११ जैसीडाँडामा झण्डै ८ करोड रुपैयाँको लागतमा व्यवस्थित शीत भण्डारको निर्माण कार्य सुरु भएको हो ।

स्याङ्जा शीत भण्डार सहकारी संस्थाको पहल र भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा शीत भण्डारण केन्द्रको निर्माण कार्य सुरु गरिएको जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले बताउनुभयो । निमार्णाधीन शीत भण्डार १ हजार मेट्रिक टन क्षमताको हुने उहाँले बताउनुभयो ।

७ करोड ७३ लाख ८० हजार ९ सय ५१ रुपैयाँको लागतमा शीत भण्डारको निर्माण कार्य गरिने उहाँको भनाई छ । सहकारी विभागबाट प्राप्त हुने २ करोड ५० लाखमध्ये ४० प्रतिशत अर्थात १ करोड ६६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ शीतभण्डार सहकारीले लगानी गर्नु पर्नेछ । त्यस्तै, गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त हुने २ करोड ५० लाख रुपैयाँ मध्ये ३० प्रतिशत अर्थात १ करोड ७ लाख १४ हजार २ सय ८५ रुपैयाँ पनि शीत भण्डार सहकारीले नै जुटाउनु पर्नेछ ।

संघीय मन्त्रालय र प्रदेश मन्त्रालयबाट प्राप्त हुने छुट्टाछुट्टै रकमको काम समेत बाँडफाँड गरिएको संघका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । स्याङ्जा शीत भण्डार सहकारीमा जिल्लाका १ सय ४ सहकारी संस्था तथा पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिका शेयर सदस्य रहेका छन् ।

यस्तै, जिल्लाको त्रियासी कृषि सहकारी संस्थामा तरकारी र जनविकास साना किसान सहकारी संस्थामा सुन्तला राख्नको लागि शीत भण्डार केन्द्र बनाउने काम सुरु भएको संघले जनाएको छ । वालिङ नगरपालिका–१ स्थित त्रियासी कृषि सहकारी संस्थामा निर्माण गरिने शीत भण्डारको लागि यस वर्ष ९८ लाख ७४ हजार रुपैयाँ छुट्याइएको छ । 

जसमा ६० प्रतिशत अर्थात् ५९ लाख २४ हजार ४ सय रुपैयाँ भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयको सहकारी विभागबाट प्राप्त हुने सहकारीका अध्यक्ष एवं वालिङ नगर प्रवत्ता केदार काफ्लेले बताउनुभयो । बाँकी ४० प्रतिशत रकम सहकारी आफैले व्यवस्था गर्नेपर्ने उहाँको भनाई छ । 

त्यस्तै, अर्जुनचौपारी गाउँपालिका–३ मा पनि सुन्तला राख्नका लागि यसै वर्षबाट शीत भण्डार केन्द्र निर्माण कार्य सुरु गरिने भएको छ । जनविकास साना किसान सहकारी सस्थाको पहलमा निर्माण गरिने शीत भण्डार केन्द्रका लागि २१ लाख रुपैयाँ छुट्याइएको छ । शीत भण्डारको अभावले सुन्तला, आलु र तरकारी उत्पादक कृषक मर्कामा पर्दै आएका छन् । व्यवस्थित शीत भण्डारको निर्माण पछि कृषकलाई राहत पुग्ने जिल्ला संघले जनाएको छ । 


प्रतिक्रिया