थारु बस्तीमा फस्टाउँदो होमस्टे 

रेडियो कान्तिपुर संवाददाता

असार २०, २०७६ | काठमाडौं

- धनगढी उपमहानगरपालिकाको जुगेडा र घुईयाँघाटलाई जोडेर नमूना राना थारु होमस्टे बनाउने तयारी थालिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा भएको २ दिने होमस्टे अभिमुखिकरण र अवलोकनका क्रममा सो समुदायमा घरबास होमस्टे र आतिथ्यता तालिम समेत दिइएको छ । पर्यटन आर्थिक विकासको महत्वपूर्ण आधार रहेकाले यस्तो होमस्टे सञ्चालनले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने होमस्टे एशोसिएसन अफ नेपाल होसानका अध्यक्ष केशव बरालको भनाई छ । घरमै उपलब्ध सामग्री बेचेर राम्रो आर्थिक आर्जन गर्न सकिने भएकाले थारु जातिका मानिस घरबास व्यवसायतर्फ आकर्षित हुन थालेका हुन् ।

निर्वाहमुखी कृषि पेशा गर्दै आएका उनीहरु मौलिक संस्कृति, खानपानको परिकारको सदुपयोग हुने भएकोले होमस्टे व्यवसायतर्फ उन्मूख बनेका हुन् । ढिक्री/सोझो रोटी, फुलौरी, घोङघी, गंगटो, खरिया, पटौटा, सिमही, मिसौला, चिचर, माछा लगायत मौलिक परिकार ती होमस्टेमा खान पाईन्छ । त्यस्तै सखिया, झुमरा, मुङ्ग्रहुवा, हुर्डुङ्वा, होरी, झिझी, झमटा जस्ता स्थानीइ नाच पनि हेर्न पाईन्छ । यस्ता मौलिक खानाका परिकार र नृत्यलाई आन्तरिक र बाहृय पर्यटकले बढी रुचाउने गरेको पाईन्छ । 

होमस्टे एसोशिएसन अफ नेपालका अनुसार अहिलेसम्म १९ वटा थारु गाउँमा होमस्टे सञ्चालन भइसकेको छ ।

 नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सबैभन्दा पहिले कैलालीको भादा गाउँमा थारु होमस्टे सञ्चालन भएको थियो । त्यसयता, तराईका थुप्रै जिल्लामा थारु होमस्टे सञ्चालनमा छन् । हाल कैलाली, कञ्चनपुर र बर्दियामा ४/४ वटा, बाँकेमा २, दाङ र कपिलवस्तुमा १/१ र नवलपुरमा ३ वटा होमस्टे सञ्चालनमा रहेको होसानका कोषाध्यक्ष सुरज बास्तोलाले जानकारी दिनुभयो ।

राना थारु सामुदायिक होमस्टेले छोटो अवधिमै व्यावसायिक फड्को मारेको उहाँको भनाई छ । होमस्टेको विकासका लागि बाटोघाटो, पुलपुलेसो निर्माण र अन्य विकास समेत आवश्यक रहेको उहाँको भनाई छ । अर्गानिक उत्पादन र संस्कृतिलाई व्यवसायिक बनाउन सके पर्यटन फष्टाउनसक्ने होसानका सुदूरपश्चिम इञ्चार्ज रामबहादुर चौधरी बताउनुहुन्छ । 

होमस्टे अभिमुखिकरण तालिमका सहभागीहरुले हाल बाँकेको गाभर भ्याली, बर्दियाको सत्खलुवा, गोविन्दपुर र कैलालीको माघी सामुदायिक होमस्टेको अवलोकन र सुझाव संकलनको काम गरिरहेको संयोजक चौधरीको भनाई छ । 


प्रतिक्रिया