स्वर्ग जाने सिँढी : देउढुंगा (फोटोफिचर)

मंसिर ९, २०७७ | सिन्धुपाल्चोक

आँखैअघि लोभलाग्दो हिमदेव गौरीशंकर हिमाल, त्यसकै काखमा दामुछो पोखरी । फराकिलो लेकाली जंगलबीच फैलिएका क्षितिज र हुस्सु, त्यहीबीच छ अदभूत स्वर्ग जाने सिँढी अर्थात देउढुंगा । भोटेकोशी गाउँपालिका–५, मार्मिङ र दोलखा जिल्लाको बिगुको सीमा क्षेत्रस्थित देउढुंगा एउटा पहाडी टुक्रामा देखिने अचम्मको दुई वटा खुड्कीला हो । 

स्थानीय अगुवा कुइसाङ शेर्पाका अनुसार गौरीशंकर हिमाल भन्दा केही तल रहेको देउढुंगा झण्डै तीन हजार वर्षअघि चौरी गोठालाद्वारा पत्ता लगाएको मानिन्छ । बौद्ध र हिन्दू धर्मको महान तीर्थस्थलमा गनिने देउढुंगालाई वृद्धवृद्धाले स्थानीय शेर्पा भाषामा किबुलुङ वा भूमेदेव पनि भन्ने गर्छन् । 

५ हजार मिटरको उचाइमा रहेको देउढुंगा बारे अनेक किस्सा प्रचलित छन् । भन्ने गरिन्छ पहिले देउढुंगाको तल्लो क्षेत्रमा एउटा प्राकृतिक ढोका थियो । त्यहाँ इच्छाएको र मागेको भाडाकुँडा, वस्तुभाउ देखि धनमाल सबै कुरा आफै उत्पन्न हुन्थ्यो । ‘त्यो प्रयोगपछि फिर्ता गर्नुपथ्र्यो, त्यहाँ चौरी चराउन जाने सबै गोठालाले सबै कुराको अभाव देउढुंगालाई मागेर टाथ्र्ये र सफा गरेर फिर्ता गथ्र्ये तर एक जनाले जुठो राखिदिएपछि त्यो ढोका बन्द भयो ,’शेर्पाले भने ।

अर्को कथा देउढुंगा बारे झनै रोचक छ । स्वर्ग र माथिल्ला लोकका देवताहरुले पृथ्वीबासीको दु:ख देख्न सकेनन् । त्यसैको लागि स्वर्ग जोड्ने सिँढी बनाउन थाले । तर कुनै कारणवश रोकियो । सिँढी दुई वटा खुड्कीलामै सीमित रह्यो । देउढुंगाको तल्लो भेगमा आदियोगी शिवले तपस्या गरेको मानिने शिला, प्राकृतिक शिवलिंग र कलात्मक गुफालाई बौद्ध परम्पराले दर्जोले सजाएको छ । देउढुंगा भन्दा केहीमाथि नांगो देखिने खुल्ला जमिन यार्सागुम्बाको चर्चित छ । त्यो क्षेत्रभर प्राचीक चित्र र मन्त्र कुँदिएका बौद्ध स्तुपा र मानेछ्र्योतनले लहरेमाने भरिएको छ । त्यहीको माथिल्लो भेगमा अाँखैसामुन्ने गौरीशंकर हिमश्रृंखलाको काखैमा काला पत्थरको बगैचा या ब्याल्क स्टोन गार्डेनमा रमाउन सकिन्छ । गार्डेनकै क्षेत्रमा महादेवले हिमाली जीवको लागि उत्पन्न गराएको दामुछो भन्ने सुन्दर ताल देख्न पाइन्छ ।

कसरी जाने ?

काठमाडौंबाट एकसय ३० किलोमिटरको दूरीमा रहेको देउढुंगा पुग्नको लागि यात्रा एकदमै सहज छ । बाह्रबिसे नगरक्षेत्रसँग जोडिएको कोदारी राजमार्गको चाकु, छ्यादी पोखरी हुँदै चन्द्रखु होमस्टे गाउँ, तोप्लेङसम्म झण्डै १२ किलोमिटरसम्म सवारीमा यात्रा गर्न सकिन्छ । त्यसपछि ३ घण्टाको पैदल ट्रेकिङ सुरु हुन्छ । तोप्लेङ, दोमन, पाहुले, लोमादिङ, ठारे हुँदै देउढुंगा पुगिन्छ । देउढुंगाबाट ३ किलोमिटरको दूरीमा गौरीशंकर हिमालको बेसक्याम्प र दामुछे पोखरी पुग्न सकिन्छ ।


प्रतिक्रिया