वन छिर्‍यो गैंडा गन्ने हात्तीको लस्कर (फोटोफिचर)

चैत्र ९, २०७७ | चितवन

मकवानपुर मनहरी बजारदेखि दक्षिण पर्सा राष्ट्रिय निकुञ्जको रमौली प्रतापपुर क्षेत्रमा सोमबार बिहान बेग्लै खाले चहल पहल थियो । ४२ वटा हात्ती लस्कर लागेर बसेका थिए । त्यसमाथि जीपीएस, दुरबिन, क्यामेरा र अन्य कागजपत्र भएको फाइल बोकेका मान्छेहरु चढ्दै थिए । 

पौने ९ हुँनै लाग्दा वन क्षेत्रमा गाडीको लावा लस्कर देखियो । वनमन्त्री प्रेम आले लगायत सरकारी उच्च पदस्थ अधिकारीहरु पनि त्यहाँ आइपुगे । सबै तयार भएपछि वनदेवीको पूजा भयो । पूजा सकिएपछि वनमन्त्री आले एउटा हात्तीमा चढे । त्यो हात्ती पनि अन्य हात्तीको समूहमा मिसियो । 

सवा नौ बजे तिर हात्तीमाथि बसेका मन्त्री आलेले सुट्ठी फुके । सिट्ठीको नौलो आवाजले हात्तीहरु सतर्क भएर आवाज निकाल्न थाले । तर माहुतेहरुले कुनै अलमल नगरी हात्ती हिँडाए । हेर्दा हेर्दै हात्तीको लस्कर वनभित्र बिलाउन थाल्यो । यो लस्कर २२/२५ दिन यसरी नै वनभित्र डुल्ने छ । राष्ट्रिय गैंडा गणना २०७७ को सोमबार उद्घाटन भएको छ । 

गैंडा विश्वबाट लोप हुने अवस्थमा पुगेको दुर्लभ वन्यजन्तु हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले भन्नुभयो, ‘त्यसैले यी जीवहरुको संख्या कति छ ? कुन भेगमा छन् ? उमेर र लिंगको अवस्था के कस्तो छ सबै कुरा बेला बेलामा थाहा पाइ राख्नु पर्दछ । यसैका आधारमा संरक्षण योजना बनाउने गरिन्छ । त्यसैले केही वर्षको अन्तरालमा गैंडा गणना हुने गर्दछ ।’ 

यसअघि ७१ सालको चैत्रमा गैंडा गणना सुरु भएर २०७२ सालको बैशाखमा नतिजा सार्वजनिक भएको थियो । त्यो बेला देशभर ६४५ वटा गैंडा थिए । चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा सर्वाधिक ६०५ वटा गैंडा फेला परेका थिए । गैंडा चितवन निकुञ्ज क्षेत्रमा अत्यधिक पाइए पनि पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइने गर्दछ । सोमबार पर्सा र चितवनमा गणना सुरु भएको हो । 

बर्दियामा चैत्र १७ र शुक्लामा १९ गतेबाट गणना सुरु हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले बताउनुभयो । हात्तीमा बसेका गणकहरुले गैंडा पाइने निश्चित क्षेत्रभित्र एक दिनभर डुलेर विवरणहरु संकलन गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो, ‘चितवन निकुञ्जलाई १९ वटा ब्लकमा विभाजन गरेका छौं । एउटा ब्लक पार गरेर गैंडा अर्कोमा नजाने सम्भावना हेरेर ब्लक निर्धारण गरेका छौं । एउटा ब्लकमा पुरा एक दिन गणना हुन्छ । त्यसैले दोहरिने वा छुट्ने सम्भावना कम रहन्छ ।’

हात्तीको लहरले एउटा ब्लक ढाक्ने गर्दछ । हात्तीमा बसेका गणकले दुरबिन र क्यामेराको सहायताले देखेका गैंडाको विवरण लिन्छन् । गैंडा देखिएको ठाउँ जिपिएसमा संकेत गर्दछन् । चितवनमा ४२ वटा हात्ती परिचालन भएको छ । गणक र अन्य कर्मचारी गरेर २ सयजना खटेका छन् । गणकमा सात जना महिलाहरु पनि छन् । सवै कुराको साथ रहे २२/२५ दिनमा गणना सकिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । नतिजा घोषणा बैशाखमा हुनेछ । 


प्रतिक्रिया