बुद्ध जयन्तीमा चकमन्न लुम्बिनी (फोटोफिचर)

जेष्ठ १२, २०७८ | कपिलवस्तु

अहिले लुम्बिनी चकमन्न छ । सामान्य अवस्था भएको भए अहिले लुम्बिनी ध्वजा पताका र लुङदाले श्रृङ्गारिएको हुन्थ्यो । ओम माने पद्मे हुँ को आवाज चारैतिर गुन्जायमान हुन्थ्यो । बुद्धम् शरणम् गच्छामीको भावना चारैतिर सुनिन्थ्यो । 

जेठ १२ गते बुधबार शाक्यमुनी बुद्धको २५६५ औं बुद्धजयन्तीमा भब्यताका साथ मनाईन्थ्यो । तर कोरोना भाइरसको संक्रमणका कारण सुनसान छ । लुम्बिनी गुरुयोजना क्षेत्रको ३ वर्ग स्क्वायर माइल क्षेत्रमा स्वदेशी विदेशी पर्यटक देखिन छाडेका छन् । सन्नाटा छाएको छ ।

मानिसको आवतजावत नहुँदा कोलाहल र प्रदूषण छैन । लुम्बिनी उपवनमा हरियाली छाएको छ । मन्त्रमुग्ध र रोमाञ्चक वातावरण छ । साच्चै हेर्न लायक मनमोहक वातावरण बनेको छ । कोरोना महामारी अन्त्यको कामना गर्दै सीमित व्यक्तिहरुको बीचमा बुधबार शान्तिको मुहान लुम्बिनीमा बुद्धजयन्ती मनाइंदै छ ।

महामारीका कारण जारी निषेधाज्ञाका कारण यसपल्ट २५६५ औं बुद्धजयन्तीमा औपचारिक कार्यक्रम राखिएको छैन । सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना गर्दै बुधबार बिहान ७ देखि ९ बजेसम्म कार्यक्रम गरिनेछ ।

सार्वजनिक रूपमा नेपालमा बुद्ध जयन्ती मनाउन सुरु भएको सात दशकपछि दोस्रो पटक बुद्ध जयन्तीलाई फरक ढंगले मनाउन थालिएको छ । यस वर्ष भव्य रूपमा बुद्ध जयन्ती मनाउने कार्यक्रम भए पनि बन्दाबन्दीले पूजापाठमा सीमित भएको हो । 

इसापूर्व छैटौं शताब्दीमा भगवान् गौतम बुद्धले लिच्छविहरूको राजधानी वैशालीमा रतनसूत्र पाठ गरेर महामारी अन्त्य गरेका थिए । पानी नपरेर अनिकाल भई महामारी फैलिएर हजारौं मान्छेको मृत्यु भएपछि रतनसूत्र पाठ गरिएको हो ।


प्रतिक्रिया