जुगल हिमालको बेसक्याम्पमा १०६ किशोरीको ‘मार्चपास’ (फोटोफिचर)

फाल्गुन १९, २०७९ | सिन्धुपाल्चोक

‘जाऔं जाऔं जुगल हिमाल चढ्न जाऔं’ जुगल हिमालको बेसक्याम्पमा पुग्दा चर्चित गायक चेतन सापकोटाको यही गीत एकै स्वरमा गाउँदै थिए एक सय ६ जना किशोरी, केही पर्वतारोही र प्रशिक्षक । 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित हिउँले झनै मनमोहक बनेको जुगल हिमालकै फेदीमा पुग्दा मेलम्ची नगरपालिका बाहुनेपाटीकी २३ वर्षीया कृतिना माझी चिच्याएर खुशी भइन् । ‘ओहो यो त स्वर्गको टुक्रा रहेछ’, उनले नाच्दै भनिन् । 

उनीझै पाँचपोखरी थाङपालकी १७ वर्षीया मनमाया तामाङ, जुगल बराम्चीकी १८ वर्षीया दिपा लामिछाने, चौतारा साँगाचोकगढी नगर चौताराकी ३३ वर्षकी शान्ति तामाङ उत्साहित भएर रमेका देखिन्थ्ये । जुगलको काखमा विभिन्न स्थानीय तहबाट पुगेका एक सय ६ किशोरीको एउटै उद्देश्य थियो ‘पर्वतारोहण सम्बन्धी स्थानीय ट्रेकिङ तालिम या मार्चपास’ । 

जुगल गाउँपालिकाको पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार ती किशोरीहरुलाई विश्व समावेशी सहासी संस्था (जीआईए) को आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम दिइएको हो । यो दुई वर्षको प्याकेज हो, जसमध्ये चार जना शिक्षकद्वारा कम्प्युटर र अंग्रेजी भाषा सिकाईदैछ ।

यी किशोरीलाई जुगल गाउँपालिकाको तीन दिने यात्रामा जिल्लाभरको इतिहास, भूगोल, धर्म संस्कृति बारे जानकारी दिइएको छ । यस बाहेक ५ जना अन्तर्राष्ट्रिय पर्वतारोही प्रशिक्षकद्वारा पर्वतारोहीले पर्वतारोहण सम्बन्धी सम्पूर्ण तालिम अर्न्तगत ट्रेकिङ म्याप, प्राथामिक उपचार तालिम, म्याप नेभिगेशन सहित अन्य पर्वत चढ्न आरोहीले गर्नुपर्ने सामग्री र तयारी बारे प्रयोग गरेर सिकाइएको छ । 


प्रतिक्रिया