अविरल वर्षाले विराटनगर जलमग्न [तस्बिरहरु]

असार १२, २०८१ | विराटनगर
पानीले निकास नपाउँदा मोरङको विराटनगर बुधबार आकासे झरीमै जलमग्न भएको छ । गएरातिदेखि परेको अविरल वर्षाले विराटनगर महानगरपालिकाका १९ वटै वडाबासी डुबानबाट प्रभावित भएका छन् । डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएका छन् ।
सडक भन्दामाथि नाला निर्माण हुनु र नालाको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ । महानगर–३ को हिमाली मार्ग, फिफा, त्रिमार्ग, आस्था र मितेर मार्गका ९० प्रतिशत घर डुबानमा परेका छन् ।
स्थानीय वासु भण्डारीका अनुसार पहुँचका आधारमा सडक र नाला निर्माण गरेर पानीको निकास नगर्दा वडाको पुरै वस्ती नै डुबानमा परेको हो । उनका अनुसार हिमाली मार्ग अन्तर्गतका घरको भुईँ तलामा पानी छिरेको छ ।
यसक्षेत्रका अधिकांश घरको भुईँ तलामा दुई फिटसम्म पानी जमेको छ । वडा–३ कै पिपल चोकको प्रताप मार्गको सडक निर्माण गर्ने क्रममा सडक भन्दामाथि नाला बनाईंदा त्यहाँका सय भन्दा बढी घर डुबानमा परेको स्थानीय पिताम्बर बजगाईले बताए ।





