मनाङमा बेमौसमी हिमपात (फोटोफिचर)

आश्विन १२, २०८१ | लमजुङ
देशभर वर्षा भइरहँदा हिमाली जिल्ला मनाङमा शुक्रबार र शनिबार हिमपात भएको छ । बेमौसमी रुपमा भएको हिमपातले माथिल्लो मनाङका स्थानीय प्रभावित बनेका छन् ।
पुस–माघ–फागुनमा हुने हिमपात यसपटक असोजमै भएको हो । यसअघि २०७१ मा पनि असोजमा हिमपात भएको थियो ।
मनाङको ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ । हिउँले नार र फू गाउँ सेताम्मे बनेको स्थानीयले जनाएका छन् ।
हिमपातका कारण चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने हिमाली भञ्ज्याङ थोराङ्ला पास गरेर मुक्तिनाथ पुग्नेहरु, तिलिचो तालको यात्रा गर्नेहरु, काङ्लापास तथा हिमलुङ हिमाल चढ्ने पर्यटक बढी प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मनाङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई मौसमको ख्याल गरेरमात्रै भ्रमण गर्न आग्रह गरेको छ ।





तस्बिर सौजन्यः सञ्जिव पौडेल र विनोद गुरुङ