सुनकोसी नदीमा नेपाली सेनाले थाल्यो बेलिब्रिज निर्माण (फोटोफिचर)

आश्विन २१, २०८१ | खुर्कोट

सुनकोसी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने पुलमा नेपाली सेनाले बेलिब्रिज निर्माणको काम सुरु गरेको छ । रामेछाप तर्फको ५१ मिटर बगेकोमा बेलिब्रिज हालेर यातायात सञ्चालनका लागि काम थालेको सेनाले जनाएको छ । 

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट जोड्ने १० वर्ष अघि बनेको सुनकोसी नदीको पुलको ५१ मिटर भाग बाढीले बगाएको थियो । 

बेलिब्रिजका लागि चाहिने सबै सामान आइनपुगेकाले पहिलो चरणमा पुलको सिन्धुलीतर्फको बाँकी भागको सरसफाइ भईरहेको सेनाले जनाएको छ । रामेछापतर्फको पिल्लर प्रयोग गर्न मिल्ने/नमिल्ने बारे प्राविधिक जाँच भइरहेको बेलिब्रिज निर्माणमा संलग्न १४ नम्बर बाहिनीको पुल महाशाखाले जनाएको छ ।

रामेछापतर्फको पिल्लर प्रयोग गर्न मिल्ने अवस्था भई उपकरण सबै आइपुगेमा एक सातामै बेलिब्रिज निर्माण भइ यातायात सञ्चालन हुने सेनाका प्राविधिकहरुले बताएका छन् । र्‍याफ्टङि मोटरबोट प्रयोग गरेर सेनाका प्राविधिक सुनकोसी नदी पार गरी रामेछापतर्फको पिल्लर चेकजाँच गरिरहेका छन् ।

पिल्लर पुनः बनाउनु परेमा भने तीन महिना लाग्नेछ । रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराइसँग जोड्न वीपी राजमार्ग र मध्यपहाडी राजमार्गका लागि सुनकोसी नदीको पुल वरदान सावित भएको थियो ।


प्रतिक्रिया