सुनकोसी तटीय क्षेत्रमा झुल्यो धानको बाला (फोटोफिचर)
कार्तिक ७, २०८१ | सिन्धुली
बाढी पहिरोबाट जोगिएको सुनकोसी नदी तटीय क्षेत्रमा यतिखेर धानको बाला लहलह झुलेको छ । सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्मको ६१ किलोमिटर मध्यपहाडी लोकमार्ग क्षेत्रको सुनकोसी नदी तटीय क्षेत्रमा बाढी र पहिरोको तहसनहसबाट जोगिएको पकेट क्षेत्रमा लहलह धानको बाला झुलेको देखेर मनै आनन्दित हुन्छ ।
फिक्कल गाउँपालिका–२ सुम्नामबेसीमा पाकेर धान पहेँलै भएको छ भने डिलमा सयपत्री फूलले नजिकिएको तिहारलाई सम्झना गराउँछ । धान उत्पादन धेरै हुने भएकाले पकेट क्षेत्र नै घोषणा गरेर नदी तटीय क्षेत्र अन्न भण्डार भएकोमा यो वर्षको बाढीले धेरै बगाएको छ ।
भित्र्याउनले बेला भएको धानबाली असोज ११ र १२ गतेको अविरल वर्षापछि सुनकोसी तथा अन्य खोलाहरुमा आएको बाढीले खेत समेत नै बगाएको स्थानीय शितल पोखरेल बताउँछन् । जोगिएको धानबाली हेर्दा भने मनमोहक देखिन्छ । मानो रोपेर मुरी उव्जाउने अन्नबालीको रुपमा धानलाई लिने गरिए तटीय क्षेत्रमा भने एकमाना बीउको तीन मुरीसम्म उत्पादन हुन्छ ।
गोलन्जोर र फिक्कल गाउँपालिकाको खुर्कोट, हैवारवेसी, ग्वाल्टार, मुर्कीवेशी, सुम्नामवेसी, सोखुफाँट लगायतका क्षेत्रमा धान बढी उत्पादन हुन्छ ।