अनलाइन ब्यापारको नाममा ठगी

माघ १४, २०७६ | मोरङ

सुनसरीको इटहरी उपमहानगरपालिका १ की २८ वर्षीया छत्रकुमारी धमलाको नाममा एनआईसी एसिया बैंक शाखा विराटनगरमा खाता खोलियो । उनको नागरिकताको फोटोकपी प्रयोग गरी खोलिएको ५६७०१८००३५५२४०१ नम्बरको बैंक खाता बारे धमला बेखबर थिइन् । 

यति मात्रै होइन, उनकै नागरिकताको फोटोकपी प्रयोग गरी ९८४०६८६०७१ नम्बरको सीमकार्ड समेत निकालेर अलनलाई ब्यापारका लागि फेसबुक र ह्वाट्सएपबाट सम्पर्क गरी उक्त बैंक खातामा पैसा पठाउन लगाएर ठगी धन्धा चल्यो । केही दिनपछि बैंक खाता बन्द गरियो ।

धमलालाई यो विषयमा कुनै जानकारी थिएन तर, उनी विरुद्ध सचिन श्रेष्ठ लगायतका व्यक्तिले महानगरीय प्रहरी परिसर टेकुमा ठगी गरेको उजुरी दिए । उनलाई महानगरीय अपराध महाशाखाले हाजिर आउन गरेको पत्राचार अनुसार उनी हाजिर भइन् । महानगरीय अपराध महाशाखामा पुगेपछि मात्रै धमलाले घट्नाको रहस्य बारे जानकारी पाइन् ।

काठमाडौं जिल्ला अदालतको ०७६ कार्तिक २५ गतेको आदेशले धमला ५० हजार धरौटीमा रिहा भईन् । उनी काठमाडौंबाट फर्केर आफ्नो नाममा नक्कली बैंक खाता खोल्ने व्यक्तिको खोजी गर्न थालिन् । धमलाले ०७६ पुस ३ गते विराटनगर ७ स्थित सिभिल बैंक शाखा कार्यालयको एटीएममा एक व्यक्तिले विभिन्न एटीएम कार्ड प्रयोग गरिरहेको हेरेपछि तत्काल खबर गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताउनुभयो ।

‘तत्काल प्रहरी टोली पुगेर खोटाङको जन्तेढुंगा गाउँपालिका ४ का २२ वर्षीय शिवजी खड्कालाई नियन्त्रणमा लियौं,’ उहाँले भन्नुभयो, ‘खड्काको साथबाट सनराईज, सिद्धार्थ, कुमारी र एनआईसी एसिया बैंकको एटीएम, मोबाइल र विभिन्न १५ वटा बैंकको चेकबुक माग गरेको फारम बरामद भयो ।’

खडका लगायतका व्यक्तिहरुले विराटनगर ३ स्थित यज्ञकुमारी खड्काको घर भाडामा लिई अनलाइन ब्यापारको नाममा ठगी गरिरहेको प्रारम्म्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताउनुभयो । उनीहरुले भाडामा लिएको घरमा पुस ७ गते छापामारेपछि ७ लाख १३ हजार नगद, कम्प्युटर र ल्यापटप, सिभिलको एक र एनआईसी एसिया बैंकको ३ वटा एटीएम कार्ड, चेकबुक लगायत कागजात तथा उपकरणहरु बरामद भएको प्रहरीले जनाएको छ । 

भाडाको घरमा बस्ने खोटाङको जन्तेढुंगा गाउँपालिका ४ की २० वर्षीया देवी चौलागाईँलाई समेत पक्राउ गरिएको एसपी अधिकारीले बताउनुभयो । अनलाइन ब्यापार गर्ने नाममा ठगी गर्ने गिरोहका नाइके सुन्दरहरैंचा नगरपालिका ३ का ३६ वर्षीय विशाल अर्याल भन्ने निरन्जन प्रसाद आचार्यलाई पुस १७ गते विराटनगरस्थित कञ्चनबारी चोकबाट पक्राउ गरिएको थियो । 

‘आचार्यको साथबाट प्रभु र मेघा बैंकको ४ थान एटीएम कार्ड, विकास, ज्योती विकास, एभरेष्ट, सिभिल, लक्ष्मी, एनएमबी, माछापुच्छ्रे, एनआइसी एसिया, केनरा बैंक इण्डियाको चेकबुक मांग फारम बरामद भयो,’ अधिकारीले भन्नुभयो, ‘आचार्यको साथबाट २६ हजार नगद, नम्बरको भारतीय मोटरसाइकल, प्रभु बैंक शाखा इटहरीमा मधुकुमारी आचार्यको नाममा २८ लाख र आचार्यको नाममा जम्मा भएको २५ लाख र आचार्यकै नाममा स्टेट बैंक अफ इण्डियामा २ लाख रुपैयाँ जम्मा गरेको भौचर बरादम भयो ।’

आचार्यको सुन्दरहरैंचा ३ स्थित घर छापामारी गर्दा नगद १८ लाख १९ हजार ५ सय, विराटनगर भन्सारको सवारी साधनको अस्थायी पैठारी अनुमति पत्र थान ४०, भन्सार प्रज्ञापन पत्र काटिएको रसिद ६०, भन्सार प्रज्ञापन पत्र एक प्याड, नक्कली प्रज्ञापन पत्र प्रिण्ट गर्ने पहेलो रंगको कागज एक बण्डल बरामद भएको एसपी अधिकारीले बताउनुभयो ।

‘एभरेष्ट बैंकको रिक्वेष्ट फारम रेमिटान्स टु इण्डिया लेखिएको फारम १० थान, कम्प्युटर, रिंगिन प्रिण्टर २ थान, फोटो प्रिण्टर, हार्ड डिस्क ३, सिडिरुम २, विभिन्न व्यक्तिको नाम र फोटो परिवर्तन गरिएको नागरिकताको फोटोकपी ३७ थान एनटीसीको सिमकार्ड ७, एनसेलको ११ र भारतीय सिमकार्ड ७ थान आचार्यको घरबाट बरामद भयो,’ अधिकारीले भन्नुभयो, ‘आचार्यको भारतीय आधार कार्ड, विराटनगर भन्सार कार्यालयको यात्रु शाखाको नेपाल सरकारको लोगो सहितको छाप २ थान, आइएमई पे कार्ड, एभरेष्ट, नेपाल बंगलादेश, एनआईसी एसिया, कुमारी एसबिआई बैंकको गरी १० थान एटीएमकार्ड र भारतको केनरा बैंक लगायत नेपालका २४ वटा बैंकको ५६ थान चेकबुक उनको घरबाट बरामद भयो ।’

हालसम्ममा आचार्य, खोटाङको जन्तेढुंगा गाउँपालिका खड्का, उक्त ठाउँकी चौलागाई, सुनसरीको धरान उपमहानगरपालिका २० बिष्णुपादुकाकी २० वर्षीया भावना राई, धरान ५ की १९ वर्षीया सरिता परियार, उक्त ठाउँकी २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम, २१ वर्षीया लक्ष्मी कार्की पक्राउ परेको एसपी अधिकारीले बताउनुभयो । उनीहरुबाट कुल ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ नगद, ५ थान भारतीय लगायत ३७ थान एटीएमकार्ड, ७३ वटा चेकबुक प्रहरीले बरामद गरेको छ ।

आचार्य लगायतका व्यक्तिहरुको समूहले ‘बेष्ट बाय एप्पल स्टोर, बेष्ट इलेक्ट्रोनिक्स स्टोर्स शोप होम, कमार्ट इलेक्ट्रोनिक्स’ लगायत फेसबुक पेजहरुमा विभिन्न इलेक्ट्रोनिक्स सामानहरु सस्तोमा अनलाइन बिक्रीका नाममा ठगी धन्धा चलाइरहेको अनुसन्धानबाट खुलेको अधिकारीले बताउनुभयो । 

‘फेसबुक पेजमा सामान देखाएर ह्वाट्सएपबाट विभिन्न व्यक्तिहरुसँग खरिद बिक्रीका लागि फाइनल गर्ने र फर्जी व्यक्तिको नाममा खोलिएको व्यक्तिगत बैंक खातामा पैसा हाल्न लगाएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘आचार्यको नेतृत्वमा बैंक खाताबाट पैसा निकालिसकेपछि उक्त बैंक खाता बन्द गर्ने र सम्बन्धित व्यक्तिसँगको सम्पर्क विच्छेद गर्दै आएको र अनुसन्धानका क्रममा हालसम्म ३ सय जना ठगीएको विभिन्न बैंक खाताको अनुसन्धानबाट खुलेको छ । ठगीनेको संख्या अझै धेरै हुन सक्ने देखिन्छ ।’

आचार्य, खडका, चौलागाई, परियार र कार्कीले बैंकबाट पैसा निकाल्ने काम गर्दै आएको अनुसन्धानबाट खुलेको अधिकारीले बताउनुभयो । ‘उनीहरुले विभिन्न व्यक्तिको नागरिकतामा १७ जनाको फोटो राखेर विभिन्न व्यक्तिको नाममा ७८ वटा बैंक खाता खोलेको हालसम्मको अनुसन्धानबाट खुलेको र यो संख्या अझै धेरै हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले व्यक्तिले आ–आफ्नो नागरिकता लगायत परिचयपत्र सुरक्षित साथ राख्नुपर्ने देखिन्छ । होइन भने छत्रकुमारी धमला जस्तै दु:ख ब्यहोर्नपर्ने अवस्था सृजना नहोला भन्न सकिन्न ।’

पक्राउ परेकाहरु विरुद्ध सुनसरीको इटहरी १ की धमला, विराटनगर १ का रोशनकुमार मण्डल, मिर्मलसिंह रायमाझी, तनहुँको आबुखैरेनी ३ का रुपबहादुर आले मगर र भक्तपुर ५ का राज गोङ्ग लगायतले दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको एसपी अधिकारीले बताउनुभयो । उनीहरु विरुद्ध मुलुकी अपराध संहिता बमोजिम ठगी, संगठित अपराध, सरकारी कागज, सही, छाप किर्ते, दोहोरो नागरिकता र बैंकिङ्ग कसुर ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।

‘आचार्यले बेष्ट बायका एजेण्ट भनिने १५ जना भारतीय नागरिकलाई हालसम्ममा १ करोड बढी रुपैयाँ बुझाइसकेको अनुसन्धानबाट खुलेको छ,’ अधिकारीले भन्नुभयो, ‘यो ठगी गर्नेको सञ्जाल नेपालका साथै अन्तर्राष्ट्रिय स्तरमा रहेको देखिन्छ त्यसैले यस्तो अनलाइन खरिद बिक्रीबाट जोगिन सबैलाई आग्रह छ ।’


प्रतिक्रिया