मृग र दुम्सीको मासुसहित सिन्धुलीबाट ७ पक्राउ

वैशाख ११, २०७८ | सिन्धुली

अवैद्य रुपमा वन्यजन्तुको सिकार गर्ने सात जनालाई सिन्धुलीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१४ बस्ने काले दनुवार, लक्ष्मी दनुवार, मोहन दनुवार, शम्भु कुमर, बरम कुमर, शम्भु चौधरी र ईश्वर कुमर रहेका छन् । 

जिल्लाको रानीवासस्थित सव–डिभिजन वन कार्यालयबाट गस्तिमा खटिएको सशस्त्र वन रक्षकको टोलीले उनीहरुलाई चुरे जंगलबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट चार थान पासो, खुकुरी, मृग र दुम्सीको ७ केजी मासु बरामद भएको सहायक वन अधिकृत संघर्ष सक्षम मिश्रले जानकारी दिनुभयो । 

पक्राउ परेकाहरुको साथबाट बरामद मासु मृग र दुम्सीको भए/नभएको भन्ने बारे पहिचानका लागि परीक्षण गर्न काठमाडौंको विधि विज्ञान प्रयोगशाला पठाइएको उहाँले बताउनुभयो । पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार आवश्यक कारबाही गरिने सव–डिभिजन वन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया