हेटौंडामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वैशाख १८, २०७८ | मकवानपुर

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको पशुपति नगरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा कारले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक बाराको महागढीमाई नगरपालिका–४ का सञ्जयकुमार शुक्लाको मृत्यु भएको हो । 

हेटौंडा बजारतर्फ आउँदै गरेको ना ३८ प ९३६१ नम्बरको मोटरसाइकललाई विपरीत दिशामा रहेको बा ८ च २९५३ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलका चालक शुक्ला घाइते भएका थिए । 

घाइते शुक्लाको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकलको पछाडी सवार नवलपरासीको कावासोती नगरपालिकाका ३३ वर्षीय ज्योति अर्याल घाइते भएकी छन् । 

उनको चुरोहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने कार प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेकाले उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया