साढे २० केजी चरेशसहित मकवानपुरबाट तीन पक्राउ

पुस २८, २०७८ | हेटौंडा

लागूऔषध चरेशसहित मकवानपुरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका–८ सिमपानीबाट बुधबार २० किलो ५ सय ग्राम चरेश र १० किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–६ का ३३ वर्षीय सन्त बहादुर थिङ, २७ वर्षीय ललित बहादुर थिङ र चितवनको राप्ती नगरपालिका–११ का २८ वर्षीय राम बहादुर तामाङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक प्रहरी जयश्वर रिमालले बताउनुभयो । 

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु ३ च ९७४ नम्बरको गाडी चेकजाँच गर्दा सो परिणामको लागूऔषध फेला परेको थियो ।


प्रतिक्रिया